जेनेभा, स्वीजरल्याण्ड १६ जेठ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युरोपेली देश स्वीजरल्याण्डको जेनेभा सहरमा आयोजना गरेको “७७ औँ विश्व स्वास्थ्य सम्मेलन”लाई आज नेपाल सरकारको प्रतिनिधि र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले सम्बोधन गरेका छ्न ।
स्वास्थ्य मन्त्रीले सम्बोधनका क्रममा डब्ल्यूएचओले आफ्नो सात दशक लामो कार्यकालमा संसारभर करोडौँ व्यक्तिहरूको जीवन जोगाउन खेलेको भूमिकाका लागि आभार प्रकट गरे। उनले नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ गर्न, जनस्वास्थ्य प्राथमिकताहरूलाई अगाडि बढाउन, र कोभिड-१९ विरुद्धको लडाइँमा नेपाललाई साथ दिएर गरेको सहयोगको लागि पनि डब्ल्यूएचओलाई धन्यवाद दिए।
स्वास्थ्य मन्त्रीले नेपाली नागरिकहरूको स्वास्थ्य प्रतिको गम्भीरता र विगत दुई दशकमा स्वास्थ्य क्षेत्रमा भएको प्रगतिका बारेमा जानकारी गराउँदै, नेपालको स्वास्थ्य प्रणालीलाई थप सुधार गर्दै विभिन्न समस्याहरूलाई सम्बोधन गर्ने र दिगो विकास लक्ष्यहरू पूरा गर्नका लागि आवश्यक सहयोग र हस्तक्षेपको लागि डब्ल्यूएचओलगायतका अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको निरन्तर सहयोगको अपेक्षा रहेको बताए।
मन्त्रीले नेपालको स्वास्थ्य क्षेत्रमा डब्ल्यूएचओको योगदानलाई उच्च मूल्यांकन गर्दै, आगामी दिनहरूमा पनि यस संस्थासँगको सहकार्यलाई अझ बलियो बनाउन प्रतिवद्ध रहेको जनाए। सम्मेलनमा अन्य अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले समेत मन्त्रीको सम्बोधनलाई ध्यानपूर्वक सुने र नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिहरूको प्रशंसा गरे मन्त्री यादवले जानकारी दिनुभयो ।