पर्सा, ७ असार । जिल्ला प्रहरी कार्यालय पर्साले १० लाख बराबरको अवैध भारतीय मल पक्राउ गरेको छ। प्रहरी प्रवक्ता दिपक भारतीका अनुसार, तस्करहरूले भारतीय मल भन्सार छली चोरी पैठारी गरी वीरगञ्जमा अनाधिकृत रूपमा भण्डारण गरेको सूचना पाएपछि प्रहरीले उक्त मल बरामद गरेको हो।
प्राप्त सूचनाका आधारमा, असार ६ गते बिहान ५ बजे पर्सा प्रहरीको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित बैष्णोदेवी मन्दिर अगाडि बस्ने बृज किशोर महतोको घरमा खानतलासी गरेको थियो। उक्त घरमा जिल्ला नवलपरासी कावासोती नगरपालिका वडा नं. ९ का ६२ वर्षीय ज्ञान बहादुर महतोले कोठा भाडामा लिई भण्डारण गरेको अवस्थामा ७१२ बोरा (प्रति बोरा ५० केजी) भारतीय मल बरामद गरिएको हो।
ज्ञान बहादुर महतोले भारतबाट भन्सार छली चोरी पैठारी गरी अनाधिकृत रूपमा भण्डारण गरेको उक्त मल सहित पक्राउ परेका छन्। उनलाई आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी प्रवक्ता भारतीले जानकारी दिनुभएको छ।