बिरगंज १९ असार ।
पर्सा प्रहरीले गत महिना जेठ २५ गते जगरनाथपुर गाउँपालिका वडा नं. १ बिसुनपूर्वा टोलस्थित ओरिया खोलाको किनारमा नेपाल-भारत सिमानाको दशगजा भन्दा ८० मिटर नेपालको सरहदभित्र दुई जना पुरुषको शव फेला परेको थियो । घटनास्थलमा वन्यजन्तुले खोस्रिएको अवस्थामा शवको हात बाहिर देखिएको जानकारी प्राप्त भए पछि, जिल्ला प्रहरी कार्यालय पर्साले SOC, फोरेंसिक डाक्टर र तालिम प्राप्त कुकुर सहितको अनुसन्धान टोली पठाएको थियो।

प्राविधिक विश्लेषण र सूक्ष्म अनुसन्धानपछि, यो घटना पारिवारिक रिसइबी र जग्गा जमिनको विवादलाई लिएर योजनावद्ध तरिकाले हत्या भएको खुल्न आएको छ। मुख्य योजनाकारले बारा जिल्लाबाट मृतकहरुलाई झारफुक एवम् धामी झाँक्रीको काम रहेको विश्वासमा घटना स्थलसम्म बोलाएर हत्या गरेको पत्ता लागेको छ। अनुसन्धानका क्रममा, योजनाकारले हत्या गर्नका लागि निश्चित व्यक्तिलाई आठ लाख रुपैंया दिएर (सुपाडी) हत्या गराएको तथ्य खुलेको छ।

मिति २०८१।०२।२५ गते साँझ १८:१५ बजे, बारा जिल्लाको कलैयाबाट बस चढी पर्सा जिल्लाको प्रतिमा चोकमा झरेका मृतकहरुलाई योजनाकारले विभिन्न साधन प्रयोग गरी घटना स्थलसम्म पुर्याएर, गाम्छाले घाँटी बाँधी हत्या गरेको र शवलाई ओरिया खोलाको तटमा गाडेको पत्ता लागेको छ।

यस घटनामा संलग्न योजनाकार सहित तीन जना व्यक्तिहरु पक्राउ परेका छन्, जबकि अन्य संलग्न व्यक्तिहरुको पहिचान भईसकेको छ र निजहरुको खोजि कार्य जारी रहेको छ। पक्राउ पर्नेमा हत्याका मुख्य योजनाकार रहेका जगरनाथपुर गा.पा. वडा नं. ५, बस्ने बर्ष ३२ को सन्तोष प्रसाद कुम्हार, कलैया उ.म.न.पा. वडा नं. ५, बस्ने लक्ष्मण कुमार प्रजापती र जगरनाथपुर गा.पा. वडा नं. ५, बस्ने महादेव महतो नुनिया रहेको पर्सा प्रहरीले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

पक्राउ परेका व्यक्तिहरुमाथि पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी दीपक भारतीले दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय