काठमाडौँ, ०९ सावन । खानेपानी मन्त्री माननीय प्रदीप यादवले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को मुख्य कार्यालयको भ्रमण गर्नुभएको छ। मन्त्री यादवले कम्पनीको इतिहास, गतिविधि, सञ्चालनमा रहेका परियोजनाहरू, तिनीहरूको कार्यान्वयनको अवस्था, प्रगति विवरण, आगामी कार्ययोजना तथा चुनौतीहरूको बारेमा विस्तृत जानकारी लिनुभएको छ।
भ्रमणका क्रममा मन्त्रीले काठमाडौँवासीलाई उत्कृष्ट खानेपानी सेवा प्रदान गर्नका लागि गुणस्तर सुधार गर्न, सम्पूर्ण कार्यहरू पारदर्शी र जबाफदेही रूपमा सम्पन्न गर्न र सम्बन्धित सबै निकायहरूसँग समन्वय गरी कार्य अघि बढाउन निर्देशन दिनुभएको छ।
मन्त्रीले केयूकेएलको कामकारवाहीमा देखिएका चुनौतीहरूलाई समाधान गर्न सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै, खानेपानीको गुणस्तर सुधार गर्न र आम जनतालाई सुविधा पुर्याउन विभिन्न रणनीतिहरू अघि सार्नुपर्नेमा जोड दिनुभयो।
यस भ्रमणले काठमाडौँ उपत्यकाको खानेपानी व्यवस्थापनमा सुधार ल्याउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।