बिरगंज १३ असोज ।
बिरगंज मुख्य भन्सार हुँदै चाइनिज लहसुनको भारततर्फ तस्करी तीव्र रुपमा भइरहेको छ। स्थानीय तस्करहरुले बिरगंज महानगरपालिकाको मिना बजारबाट चाइनिज लहसुन खरिद गरी शंकराचार्य गेट हुँदै प्रहरीकै मिलेमतोमा रक्सौलतर्फ अवैध रुपमा तस्करी गरिरहेका छन्। तस्करहरुले दिनभर पाँचवटा अटो रिक्सा भाडामा लिएर लहसुनको तस्करी गरिरहेको भिडियो प्रमाणले यो गतिविधि उजागर गरेको छ।
भारतमा लहसुनको मूल्य वृद्धिसँगै तस्करहरुको ध्यान चाइनिज लहसुनमा आकर्षित भएको हो। तस्करहरुले सस्तो मूल्यमा बिरगंज बजारबाट चाइनिज लहसुन खरिद गरेर सीमापार रक्सौलमा महंगो मूल्यमा बिक्री गरिरहेका छन्। यो अवैध गतिविधिमा भन्सार छेत्रमा खटेका सशस्त्र प्रहरी र प्रहरी चौकी इनर्वाका केही कर्मचारीहरुले आर्थिक लाभ उठाउँदै तस्करीलाई सहयोग गरिरहेका छन् भन्ने कुरा पनि उठेको छ।
सर्वसाधारणले रक्सौलबाट आफ्ना व्यक्तिगत र व्यापारिक सामग्री ल्याउँदा सीमामा खटिएका प्रहरीले उनीहरुलाई दुःख दिने गरेका छन्, तर तस्करीको काम खुलेआम चलिरहेकाले जनतामा असन्तुष्टि बढेको छ। यस तस्करी गतिविधिले सीमा सुरक्षामा गम्भीर प्रश्न उठाएको छ र यसमा सम्बन्धित निकायहरुले छानबिन गरी कारबाही गर्न आवश्यक देखिन्छ।