पर्सा, मंसिर ५ -।
जिल्ला पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ३ झौवामा १७८० केजी चाइनिज लसुन भारततर्फ तस्करीको लागि भण्डारण गरिएको अवस्थामा प्रहरीले बरामद गरेको छ। विशेष सूचनाका आधारमा मंसिर ४ गते राति ८:३० बजे प्रहरीले कुखुरा फार्ममा अनधिकृत रूपमा लुकाएर राखिएको १०२ बोरा लसुन बरामद गरेको हो।
बरामद लसुनको अनुमानित मूल्य ४ लाख ८० हजार ६ सय रुपैयाँ रहेको छ। लसुन थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी दीपक भारतीले जानकारी दिनुभएको छ।
प्रहरीले भन्सार छलीका घटनालाई रोकथाम गर्न विशेष अभियान सञ्चालन गरिरहेको र यसप्रकारका अवैध गतिविधिमा संलग्नलाई कानूनी कारवाही गरिने जनाएको छ।