
बिरगंज ५ बैशाख । पर्सा जिल्लामा फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउँदै प्रहरीले विशेष अभियान सञ्चालन गरी फरार रहेका ५५ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार, मिति २०८१ साल चैत १ गतेदेखि ३१ गतेसम्मको अवधिमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई जरिवाना तथा कैद सजाय तोकिएकाहरूलाई पक्राउ गरी अदालतमा पेश गरिएको हो।
फैसला कार्यान्वयन तथा कैद असुल गर्न गठन गरिएको विशेष प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय पर्सा र यसअन्तर्गत रहेका विभिन्न इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीहरूबाट परिचालित भई अभियान सञ्चालन गरेको थियो।
पक्राउ पर्नेहरू विभिन्न आपराधिक गतिविधिमा संलग्न भई अदालतबाट सजाय सुनाइएपछि फरार रहेका थिए। उनीहरूमाथि लागूऔषध, कुटपिट, सार्वजनिक अपराध, चोरी, ज्यान मार्ने उद्योगजस्ता विभिन्न मुद्दाहरूमा फैसला भइसकेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साले कानूनको शासनलाई प्रभावकारी बनाउँदै समाजमा शान्ति, सुरक्षाको प्रत्याभूति गराउन र अदालतको आदेश कार्यान्वयन गर्न यस्ता अभियान निरन्तर रूपमा सञ्चालन गरिने जनाएको छ। साथै, अझै फरार रहेका अन्य प्रतिवादीहरूको खोजी कार्य तीव्र पारिएको समेत जानकारी दिएको छ।
प्रहरीले सर्वसाधारणलाई पनि फरार अभियुक्तहरूको सूचना दिन आग्रह गर्दै कानून पालना गर्न सबैलाई सचेत गराएको छ।