
पर्सा, बैशाख २८ —
जबरजस्ती करणी मुद्दामा संलग्न एक व्यक्तिलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ६ बेलहियामा जबरजस्ती करणीको घटना भएको थियो।
उक्त घटनामा नामथर परिवर्तन गरी हाल पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. १३ मा बसोबास गर्दै आएका वर्ष ५० का दिनानाथ साह र नामथर नखुलेका करिब ४० वर्षका एक अन्य व्यक्तिले एउटी महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेको प्रहरीले जनाएको छ। दुई जनाले मिलेर पीडित महिलालाई जबरजस्ती करणी गर्ने क्रममा एक जनाले उनको मुख छोपेर नियन्त्रणमा लिएको र अर्को व्यक्तिले करणी गरेको उजुरीमा उल्लेख छ।
घटनापछि अनुसन्धान सुरु गरेको प्रहरीले उजुरीका आधारमा दिनानाथ साहलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान सम्बन्धी कसूर अन्तर्गत म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको छ। हाल साह पाँच दिनको म्याद थपमा प्रहरी हिरासतमा रहेका छन्।
यस घटनामा संलग्न अर्का व्यक्ति भने फरार रहेको र उनको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको र फरार अभियुक्तको चाँडै पहिचान गरी कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी किशोर लमसालले जानकारी दिनुभयो ।