
रौतहट, मधेस प्रदेश — मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले आपराधिक गतिविधि र भारतबाट हुने तस्करी नियन्त्रण गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्।
मंगलवार उनले जिल्ला प्रहरी कार्यालय रौतहट र सर्लाहीको स्थलगत निरीक्षण गर्दै सम्पूर्ण युनिट प्रमुखहरूलाई एकै ठाउँमा राखेर निर्देशन दिएका हुन्। रौतहटमा प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले स्वागत गरेका चतुर्वेदीले प्रहरी कार्यालयको विभिन्न शाखाहरूको निरीक्षण गरे।
डिआईजी चतुर्वेदीले नागरिकको सुरक्षामा कुनै कसर बाँकी नराख्न, फरार प्रतिवादी पक्राउमा तदारुकता देखाउन, तस्करी नियन्त्रणमा सक्रियता बढाउन र बिचौलियाको पूर्ण निषेध गर्न निर्देशन दिएका छन्।
साथै, सेवाग्राहीको गुनासो तत्काल सुन्ने र समाधान गर्ने, घुमुवा प्रहरीको नाममा हुने लेनदेन नियन्त्रण गर्ने तथा व्यापारी माझ त्रास फैलाउने कार्यमा संलग्न हुनेहरूमाथि कारबाही गर्ने चेतावनीसमेत दिएका छन्।
उनी हालै एआईजीमा बढुवा भएका पूर्व प्रमुख डिआईजी लालमणि आचार्यको स्थानमा आएका हुन्।