
बिरगंज, ११ जेठ ।
नेपाल-भारतको प्रमुख प्रवेशद्वार आर्थिक नगरी बिरगंज र सिमावर्ती सहर रक्सौल जोड्ने मितेरी पुल क्षेत्र अहिले ट्राफिक व्यवस्थापनको चरम लापरबाही र अराजकताले ग्रस्त बनेको छ। बिरगंज र भारतीय सहर रक्सौललाई जोड्ने यो पुलमा दैनिकजसो हुने सवारी चाप र यात्रुको भीड व्यवस्थापन गर्न नसक्दा घण्टौंसम्मको सवारी जाम सामान्यजस्तै भइसकेको छ।
विशेषगरी नेपाली अटो रिक्साचालकहरूले पुलको दायाँबायाँ मनपरी रूपमा अटो रोकेर यात्रु चढाउने, ओर्लाउने कार्य गर्दै आएका छन्। यस्तो कार्यले नेपाल प्रवेश गर्ने र भारत फर्किने यात्रुहरू, पैदलयात्री, र सामान बोक्ने सवारीहरूलाई अत्यन्तै अप्ठ्यारो भएको छ। बिहानदेखि बेलुकासम्म पुलमै फसेर यात्रुहरू हैरानी झेलिरहेका छन्।
यता, ट्राफिक व्यवस्थापनको जिम्मेवारी बोकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले समेत समस्या समाधानतर्फ खासै चासो दिएको देखिँदैन। ट्राफिक प्रहरीहरु मितेरी पुलको सट्टा भन्सार क्षेत्रअन्तर्गत शंकराचार्य गेटमा अड्डा जमाएर बसेको देखिन्छ। यात्रुहरूको सहजता सुनिश्चित गर्ने जिम्मेवारी पाएको ट्राफिक टोली आफैं अनियमित कार्यमा संलग्न भएको गम्भीर आरोप सर्वसाधारणबाट उठ्न थालेको छ।
आर्थिक आतंक : ट्राफिकको दोस्रो भन्सार?
शंकराचार्य गेटमा खटिएका ट्राफिक प्रहरीले सशस्त्र प्रहरी र भन्सार जाँचकीले पहिल्यै चेकजाँच गरिसकेको भारतीय सवारीसाधनलाई पुनः रोकेर ‘भन्सार’ र ‘इन्ट्री’ माग्ने कार्यले सवारी चालक र पर्यटकलाई हैरान बनाएको छ। नेपालका विभिन्न सहर घुमेर भारत फर्किन लागेका पर्यटकहरूले आफूलाई अनावश्यक रूपमा दुःख दिइएको गुनासो गरिरहेका छन्।
स्थानीय व्यवसायी र सामाजिक अभियन्ताहरूका अनुसार ट्राफिकले ‘चेकजाँच’ भन्दा बढी ‘चेक खोज्ने’ मानसिकता देखाएको छ। ट्राफिक प्रहरी सहायक निरीक्षक रामसहाय यादव र ट्राफिक हवल्दार नवराज मैनालीको नाम विशेषरूपमा विवादमा आएको छ। उनीहरू केही रकमको लोभमा भारतीय नम्बर प्लेट भएका गाडीहरूलाई अनावश्यक रूपमा रोक्ने, धम्क्याउने र कागजात देखाउन बाध्य बनाउने गरेका छन्।
कानुनी व्यवस्थाको बेवास्ता, पर्यटकप्रति हेपाहा व्यवहार
नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष अनुप तिवारी भन्छन्, “शंकराचार्य गेटमा ट्राफिक प्रहरीले भारतीय पर्यटकका सवारीसाधन रोकेर इन्ट्री र भन्सार माग्ने कार्य नियमविपरीत हो। यस्तो कार्यले नेपाल घुम्न आउने पर्यटकमा नकारात्मक सन्देश जान सक्छ।”
पर्यटन प्रवर्द्धनमा जोड दिइरहेका बेला सुरक्षाकर्मीहरूकै यस्तो व्यवहारले नेपालप्रति पर्यटकको धारणा नकारात्मक बन्ने खतरा रहेको सरोकारवालाहरूको चिन्ता छ।
सम्बन्धित निकायको चासो आवश्यक
बिरगंजको मितेरी पुल र शंकराचार्य गेट क्षेत्र अत्यन्तै संवेदनशील र व्यस्त नाका हो। दैनिक हजारौंको संख्यामा मानिसको आवागमन हुने ठाउँमा ट्राफिक व्यवस्थापनमा यसरी चरम लापरबाही हुनु गम्भीर विषय हो। सम्बन्धित निकाय — गृह मन्त्रालय, ट्राफिक प्रहरी महाशाखा, भन्सार कार्यालय, र स्थानीय प्रशासन — को ध्यान नपुग्ने हो भने यसको असर आर्थिक, सामाजिक र कूटनीतिक समेत हुन सक्ने देखिन्छ।
स्थानीय बासिन्दा, सरोकारवाला संघ-संस्था, व्यापारी, र यात्रुहरू सबैले यो समस्यालाई गम्भीरतापूर्वक लिन र समाधानतर्फ अग्रसर हुन सरकार तथा प्रहरी प्रशासनलाई आह्वान गरेका छन्।