
बिरगंज, १८ जेठ — बिरगंज महानगरपालिकाको आन्तरिक राजनीतिमा एकाएक चर्किएको ‘भ्रष्टाचार प्रकरण’ पुनः अन्योलमा परेको छ। वडा नं. १२ का वडा अध्यक्ष सुरेश गुप्ताले केही दिनअघि सामाजिक सञ्जालमार्फत मेयर राजेशमान सिंहमाथि गम्भीर भ्रष्टाचारको आरोप लगाउँदै “गोप्य रहस्य” सार्वजनिक गर्ने घोषणा गरेका थिए। तर, आज उक्त खुलासा हुने भनिएको समयमै गुप्ताले सामाजिक सञ्जालमा अर्को पोस्ट गर्दै उक्त भन्डाफोर कार्यक्रम “स्थगित” गरिएको जनाएका छन्।
के भनेका थिए गुप्ताले?
जेठ १६ गते सार्वजनिक गरिएको आफ्नो पहिलो पोस्टमा गुप्ताले भनेका थिए, “बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहद्वारा लामो समयदेखि गरिँदै आएको भ्रष्टाचारका बारेमा केही गोप्य जानकारी मसँग सुरक्षित छ। यही मिति २०८२/०२/१८ गते दिउँसो १२ बजे म सार्वजनिक रूपमा ती सबै रहस्यहरू बिरगंजवासीलाई जानकारी गराउनेछु।”
यस घोषणापछि सामाजिक तथा राजनीतिक क्षेत्र ततिएको थियो। धेरैले त्यस दिन कुनै ठूला खुलासा हुने अपेक्षा गरेका थिए।
तर अहिले भने— यू-टर्न!
आज दिउँसो गुप्ताले अर्को पोस्ट गर्दै लेखेका छन्, “मैले २०८२/०२/१६ गते गरेको पोस्टअनुसार आज दिउँसो १२ बजे मेयर राजेशमान सिंहसम्बन्धी गोप्य भ्रष्टाचार खुलासा गर्ने भनिएको भए पनि आवश्यक प्रमाण जुटाउन समय लाग्ने भएकाले केही समयका लागि कार्यक्रम स्थगित गरिएको जानकारी गराउँछु।”
गुप्ताको यस्तो यू-टर्नपछि स्थानीय जनताबीच असन्तोष मात्र होइन, गम्भीर संशय पनि बढेको देखिन्छ। धेरैले सामाजिक सञ्जालमा टिप्पणी गर्दै यस्तो कदमले सुरेश गुप्ताको विश्वसनीयता खस्किएको जनाएका छन्। केहीले त उनलाई “सेटिङ नमिलेर अहिले नखोलेको” भन्ने आरोपसमेत लगाएका छन्।
जनतामा प्रश्न— सत्यको मुख छोप्न खोजिएको त होइन?
स्थानीय विश्लेषकहरूका अनुसार यदि सुरेश गुप्तासँग साँच्चिकै प्रमाण थियो भने त्यसको पहिल्यै तयारी गर्नु उचित हुन्थ्यो। तर घोषणा पछि प्रमाण नभएको भन्दै स्थगन गर्नु जनतासामु गैरजिम्मेवार व्यवहार हो। यसले उल्टै गुप्तामाथि नै प्रश्न उठाएको छ— के उनी स्वयं राजनीतिक दबाब वा ‘सेटिङ’ को प्रभावमा आए?
मेयर सिंह भने अझै मौन
यस प्रकरणमा मेयर राजेशमान सिंहको भने अझै कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। तर वडा अध्यक्षकै यस्ता सार्वजनिक आरोप र पछिल्लो यू-टर्नले उनलाई ‘फाइदा’ हुने त होइन भन्ने चर्चा पनि सुरु भएको छ।
अब सबैको नजर यो विषयको आगामी कदमतर्फ लागिरहेको छ। के गुप्ता साँच्चै प्रमाणसहित फिर्ता आउनेछन्? वा यो विषय यत्तिकै सेलाउने हो?