
वीरगंज, २५ जेठ ।
झूटो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा राजीव अग्रवाल पक्राउ परेका छन् ।
भारतबाट जागीर तथा व्यापारको सिलसिलामा नेपाल प्रवेश गरेका अग्रवालले २०६३ सालको नागरिकता टोलीबाट मापदण्डविपरीत जन्मको आधारमा नेपाली नागरिकता लिएको उजूरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
वीरगंज महानगरपालिका वडा नं. ६ को दुई नम्बर रोडस्थित पसल सञ्चालन गर्दैआएका अग्रवाल पछिल्लो केही वर्षदेखि भारतको सुरतमा बसेर कारोबार गर्दैआएका थिए । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय, पर्सामा परेको उजूरी तत्कालीन प्रमुख जिल्ला अधिकारी आसमान तामाङले अनुसन्धानको लागि उक्त निवेदन जिल्ला प्रहरी कार्यालय, पर्सामा पठाएका थिए ।
वीरगंज महानगरपालिका वडा नं. १० स्थित ठाकुर राम बहुमुखी क्याम्पस पछाडि घरसमेत बनाएर भारतमा बस्दै आएका अग्रवाल तीन दिन अगाडि जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध उजूरी पर्दा निजको नागरिकता सम्बन्धमा के–कसो भएको बुझ्न गएको बेला उनी पक्राउ परेको बुझिन आएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साबाट राजीव अग्रवाल नागरिकता सम्बन्धमा पक्राउ परेको भन्ने पुष्टि भएको छ । हाल अग्रवाल जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा रहेका छ्न । पक्राउ गरेपछि सार्बजनिक गर्ने चलन रहेको पर्सा प्रहरीले अहिले सम्म राजिव बारे केही जानकारी बाहिर आउन दिएको छैन ।
व्यापार तथा जागिरको सिलसिलामा नेपाल प्रवेश गरेका कैयौं भारतीय नागरिकले २०६३ सालको नागरिकता टोलीबाट जन्मको आधारमा मापदण्डविपरीत नागरिकता लिएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सामा दजैनौ उजूरी परेको भए पनि उनीहरुविरुद्ध हालसम्म कुनै किसिमको कारबाही नभएको बताइन्छ ।
जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत जिल्ला प्रहरी कार्यालयमा पुगेको प्रवीण बंका, जगदीश अग्रवाल, राकेश अग्रवाल लगायत विरुद्ध दुई देशको नागरिक प्रमाणित हुने आधार प्रमाणसहित परेको उजूरीउपर कारबाही भएको सार्वजनिक भएको छैन । साभार – सहारा दैनिक