
फायर एक्स्टिङ्ग्विशरको प्रयोगबारे व्यावहारिक डेमो र प्रशिक्षण
पर्सा, वीरगञ्ज ३ असार । वीरगञ्ज महानगरपालिका–१२ मा विपदजन्य आगलागीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै एक विशेष डेमोस्ट्रेसन तथा अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्वमा वडा प्रहरी कार्यालय श्रीपुर र मधेश प्रदेश विपद व्यवस्थापन गुल्म (जनकपुर, हाल वीरगञ्ज) को संयुक्त आयोजनामा सो अभ्यास गरिएको हो। कार्यक्रममा फायर एक्स्टिङ्ग्विशरको प्रभावकारी प्रयोग, आकस्मिक आगलागीको समयमा अपनाउनु पर्ने सतर्कता तथा नियन्त्रण विधिबारे व्यावहारिक तालिम दिइएको थियो।
अभ्यासको उद्देश्य आगलागी जस्ता विपदजन्य घटनालाई न्यूनतम क्षति हुने गरी समयमै नियन्त्रण गर्ने पूर्वतयारी सुनिश्चित गर्नु हो। सो कार्यक्रममा सुरक्षाकर्मी, स्थानिय प्रतिनिधि, वडा सदस्यहरू तथा समुदायका स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रशिक्षणका क्रममा अग्निनियन्त्रक उपकरणहरूको प्रकार, प्रयोग गर्ने तरिका, सावधानीका उपाय तथा प्राथमिक सुरक्षाका उपायहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। स्थानीय समुदायलाई विपद् व्यवस्थापनप्रति सचेत गराउँदै यस्ता अभ्यासले आगलागी नियन्त्रण क्षमतामा अभिवृद्धि गर्ने विश्वास लिइएको छ।
सुरक्षाको दृष्टिकोणले यस्ता व्यावहारिक अभ्यासहरू समय–समयमा सञ्चालन गरिनु अत्यावश्यक रहेको भन्दै सहभागीहरूले यस कार्यक्रमको सराहना गरेका छन्।