
बिरगंज ४ असार —
बिरगंज बसपार्कस्थित प्रहरी चौकीमा खटिएका घुमुवा प्रहरी जगनारायण पटेलको आतंकले सर्वसाधारण त्रसित छन्। स्थानीयका अनुसार बसपार्क चौकीका इन्चार्ज धिरेन्द्र थपलियाको नाममा पटेलले मासिक रकम असुली गर्दै आर्थिक आतंक मचाएका छन्।
बसपार्क क्षेत्रमा लामो समयदेखि भइरहेको अस्थायीत्व, अवैध वसूली र ट्राफिक व्यवस्थापनको चरम अस्तव्यस्तताप्रति प्रहरी प्रशासन मौन देखिनु संयोग मात्र नभएको स्थानीयहरू बताउँछन्।
गाडी पार्किङदेखि यात्रु ठग्ने सम्मका गतिविधिमा संलग्नलाई कारबाही गर्नुको सट्टा, उनीहरूसँग मिलेमतोमा केही रकमको आधारमा कानुनी प्रक्रिया ‘मैनेज’ गर्ने गरिएको खुलेको छ।बसपार्क क्षेत्रमा संचालित बस, टाटा सुमो, इभी गाडी, रात्रीबस लगायतका सवारी साधनहरूसँग पटेलले अनौपचारिक रूपमा रकम असुल्ने गरेका छन्।
जथाभावी पार्किङ, मान्छे ओसारपसार, तथा रातको समयमा गाडी सञ्चालनका नाममा उनी बसपार्क चौकिका इन्चार्ज प्रहरी नायब निरीक्षक धिरेन्द्र थपलियाको नाम लिँदै रकम उठाउने गरेका छन्।
घुमुवा पटेलको सहयोगमा बारा जिल्लाको इटियाही, मुसहर्वा, बलिरामपुर नाकाबाट भन्सार छली गरिएका अवैध सामानहरूलाई सुरक्षित रूपमा बिरगंज बसपार्कसम्म ल्याई त्यहाँबाट देशका विभिन्न भागमा पठाउन सहयोग गरिरहेका छन्। विशेष गरी भारतबाट ल्याइएका कपडाहरू रात्रीबसमार्फत देशका विभिन्न भागमा पठाउनका लागि उनले संरक्षण दिने गरेका छन्।
बसपार्कको सुरक्षास्थिति र शान्ति सुव्यवस्थामा प्रश्न उठाइरहेका घुमुवा प्रहरीको व्यवहारप्रति पर्सा प्रहरी कार्यालयको ध्यान जानु आवश्यक देखिन्छ। यदि शीघ्र सुधार नभए, यसले प्रशासनप्रतिको जनआस्थालाई थप कमजोर बनाउने निश्चितप्रायः देखिन्छ।