
पर्सा, अमरपटी — पर्सा जिल्लाको ग्रामीण क्षेत्र र भारतिय सिमानासँग जोडिएको अमरपटी नाकाबाट हाल भारतिय चल्लाको तस्करी चरम सीमामा पुगेको छ। स्थानीय स्रोतका अनुसार, सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रत्यक्ष सहयोगमा रातिको समयमा दर्जनौँ मोटरसाइकलमार्फत भारतिय चल्ला नेपाल भित्र्याइँदै छ।
प्रहरी चौकी अमरपटी, बोर्डर आउट पोस्ट (बीओपी) अमरपटिका सशस्त्र प्रहरी निरीक्षक ध्रुव भट्ट, सशस्त्र प्रहरी अलौका डिएसपी कृष्ण पुजारा, सशस्त्र प्रहरी पर्साका एसपी राधेश्याम धिमाल तथा पर्सा प्रहरीलाई बाक्लो ‘महिनावारी’ बुझाएर तस्करहरुले चल्ला तस्करीको लाइन निर्धक्क रूपमा सञ्चालन गरिरहेका छन्।
तस्करी दैनिक रातिको समयमा सञ्चालन हुँदै आएको छ भने उक्त कार्यमा सशस्त्र प्रहरी आफैं ‘सुरक्षा सहयोगी’का रूपमा संलग्न रहेको खुलेको छ। बोर्डरमा खटिएका सुरक्षाकर्मीहरुले सिमाना सुरक्षाको नाममा व्यक्तिगत कमाइको स्रोत बनाउँदै आएका छन्।
तस्करहरुले प्रदेशभरिका प्रहरी अधिकारीहरुसँग मिलेमतो गरी करोडौँको चल्ला कारोबार गरिरहेको दाबी गरेका छन्। मधेस प्रदेशका डिआइजी स्तरका अधिकारीहरुसमेत यसमा संलग्न रहेको तस्करहरुको भनाइ छ।
आगामी अङ्कमा कुन बीओपी, कुन प्रहरी चौकी र जिल्लास्तरीय अधिकारीहरुलाई चल्ला ब्यापारीले कति महिनावारी बुझाइएको हो भन्ने सम्बन्धमा ठोस प्रमाणसहित विस्तृत समाचार प्रकाशन गरिनेछ।