
बारा, प्रसौनी —
पछिल्लो समय बाराको प्रसौनी अन्तर्गतका भारत सिमावर्ती नाकाहरू तस्करीको खुला अखडा बनेका छन्। यी नाकामा खटिएका प्रहरी कर्मचारीहरू स्वयं तस्करीको संरक्षणमा लागिरहेको गम्भीर आरोप लागेको छ। इलाका प्रहरी कार्यालय (ईप्रका) प्रसौनी मातहत खटिएका प्रहरी घुमुवा अवधेश मुखिया बिन र प्रहरी निरीक्षक टोपेन्द्र श्रेष्ठमाथि अवैध तस्करीमा संलग्नता रहेको उजागर भएको छ।
स्थानीयले बताए — प्रहरीकै मिलेमतोमा खुलेआम तस्करी
बलिरामपुर, मुशहर्वा, छतवा, जोतपुरजस्ता नाकाबाट दैनिक रूपमा भारतबाट अवैध रूपमा सामान भित्रिने क्रम रोकिएको छैन। स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार घुमुवा बिनले सुरक्षा दिने जिम्मेवारी बहन गर्नुको सट्टा तस्करहरूसँग सिधा मिलेमतो गर्दै जनही ५ हजारदेखि ५० हजारसम्म मासिक असुली गर्दै आएका छन्। तस्कर समूहहरूलाई संरक्षण दिने सर्तमा उनले नजराना उठाउने गरेका छन्।
निरीक्षक श्रेष्ठमाथि पनि संलग्नताको आरोप
तस्करीमा संलग्न व्यापारीहरूका अनुसार, प्रहरी निरीक्षक श्रेष्ठलाई पनि मासिक रकम बुझाइने गरिएको छ। उनीहरू भन्छन्, “यदि श्रेष्ठले पैसा नबुझेका हुन्थे भने तस्करीबारे पटक–पटक जानकारी दिँदा पनि मौन बस्ने थिएनन्।” उनीहरूको दाबी छ, निरीक्षक श्रेष्ठको मौनता नै उनको संलग्नताको प्रमाण हो।
सप्तरी दरबन्दी भए पनि प्रसौनीमा खटिएका बिन
स्रोतका अनुसार अवधेश मुखिया बिनको स्थायी दरबन्दी सप्तरीमा भए पनि प्रहरी निरीक्षक श्रेष्ठकै सिफारिसमा उनलाई प्रसौनीमा ल्याएर घुमुवाको जिम्मेवारी दिइएको हो। यसअघि जीतपुर, मटिअर्वा, बलिरामपुरजस्ता स्थानहरूमा खटिइसकेका बिन घुमुवाको रूपमा तस्करहरूसँग बार्गेनिङ्ग गर्दै रकम असुल गर्ने पुरानो इतिहास बोकेको प्रहरी स्रोत बताउँछ।
घरायसी सामान जफत, तर तस्करहरू स्वतन्त्र
सर्वसाधारणले भारतबाट ल्याएका सामान्य घरेलु सामानहरू समेत प्रहरीले जफत गर्ने गरे पनि, ठूला व्यापारी तस्करहरूले भने प्रहरीलाई मासिक बुझाएर सजिलै तस्करी गरिरहेका छन्। भारतबाट आउने सेशनाथ इलेक्ट्रोनिक्स, उज्वल ग्रुप किराना, अमर ग्रुप, चन्दन कपडा, काजु व्यापारीहरू लगायतका दर्जनौं समूह खुलेआम व्यापार गरिरहेका छन्।
मुशहर्वा नाकाबाट ट्रयाक्टरमा खाद्यान्न तस्करी
‘अमिरिलाल’ नामक कारोबारीको नेतृत्वमा मुशहर्वा र बलिरामपुर नाकाबाट धान, चामल, गहुँ, मकै लगायतका खाद्यान्न ट्रयाक्टरमार्फत तस्करी भइरहेको छ। सीमा प्रहरी चौकी, मुशहर्वाका इन्चार्ज सइ जीवन खडका र बोडर आउट पोस्ट बरैनियाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक समेत संलग्न रहेको जनाइएको छ। उनीहरू मासिक रकम बुझेर लाइन खोलिदिने गरेको स्रोत बताउँछ।
माथिल्लो निकाय मौन, अपराधलाई संरक्षण ?
तस्करीका घटना दिनप्रतिदिन बढ्दै गएका छन्, तर प्रहरीको उच्च निकायले कुनै चासो नदेखाउनुमा पनि आश्चर्य व्यक्त गरिएको छ। आम नागरिक, स्थानीय समाजसेवी र सञ्चारकर्मीले बारम्बार जानकारी दिँदा पनि न प्रहरी प्रशासन न त सशस्त्र प्रहरी बलले कारबाहीको चासो लिएको देखिएको छ।
सम्बन्धमा जानकारी लिन प्रहरी निरीक्षक श्रेष्ठलाई सम्पर्क प्रयास गरिए पनि सफल हुन सकेन।