
पर्सा, असार १२ ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका अन्तर्गत रानीघाट क्षेत्रमा चोरीका घटनाहरू डरलाग्दो रुपमा बढिरहेका छन्। पछिल्लो घटनामा रानीघाटस्थित एक घरबाट झण्डै १४ लाख ७० हजार रुपैयाँ बराबरको गहना चोरी भएको पुष्टि भएको छ।
पीडितका अनुसार यो घटना कुनै पहिलो होइन। आदर्शनगर क्षेत्रका दर्जनौं घरमा चोरी भइसकेको छ भने पीडित पुष्कर रधुवंशीका अनुसार उनकै घरमा तीनपटकसम्म चोरी भइसकेको छ। उहाँ पूर्व वडा सदस्य समेत हुनुहुन्छ।
स्थानीयवासीहरू राति घरमै असुरक्षित महसुस गर्न थालेका छन्। घरभित्रै घुसेर गरिने चोरी, पार्किङमा राखिएको मोटरसाइकल चोरी, दिनदहाडै हुने साना लुटपाटका घटनाले जनजीवन त्रसित बनाएको छ।
स्थानीयहरूले प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाएका छन्। उनीहरूको आरोप छ — पर्सा प्रहरी सार्वजनिक सुरक्षाभन्दा बढी तस्करी नियन्त्रणको नाममा सीमामा ब्यस्त देखिन्छ, तर सहर र बस्तीहरू चोरहरूको खुल्ला मैदानजस्तो बनेका छन्।
“सुरक्षा दिनुपर्ने निकाय नै तस्करीमै केन्द्रित हुँदा सर्वसाधारणको घर–जग्गा, धन–सम्पत्ति सुरक्षित छैन,” पीडित र स्थानीयवासीहरूको गुनासो छ।
उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साबाट औपचारिक प्रतिक्रिया आउन बाँकी छ। तर नागरिक सुरक्षा सुनिश्चित गर्न, अपराध नियन्त्रणमा ध्यान दिन र सर्वसाधारणमा भरोसा कायम राख्न स्थानीय प्रशासन र सुरक्षा निकायमाथि दवाव बढ्दो छ।