
महोत्तरी —मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले ईलाका प्रहरी कार्यालय गौशाला महोतरीका प्रमुख प्रहरी निरीक्षकसहित तीन प्रहरीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान थालेको छ ।विभिन्न आरोप लागेपछि ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीसहित तीन जनालाई अनुसनधानका लागि मधेश प्रदेश प्रहरी कार्यालयले बोलाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टले बताए ।
व्यापारिबाट जबरजस्ती मासिक रुपमा रकम मागेको, चेक अनादर मुद्दामा आरोपितबाट आर्थिक लाभ लिएको, ईलाका प्रहरी कार्यालय गौशाला परिसरमा दिनहुँ छलफलबाट विचौलिया परिचालन गरी आर्थिक संकलन गर्दै आएको आरोप लागेपछि जिम्मेवारीबाट हटाएर थप अनुसन्धानका लागि तीनै जनालाई नेपाल प्रहरीको जनकपुरस्थित गणमा राखेको छ ।
प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले प्रहरी जवान धिरज महतो र अर्जुन विश्वकर्मालाई घुमुवाको रुपमा परिचालन गरी अनैतिक काम गराएको प्रहरी अनुसन्धानमा देखिएको छ ।