
वीरगञ्ज, ४ असोज ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहत रहेको ट्राफिक पोस्ट ड्राइपोर्टमा खटिएका ट्राफिक प्रहरीले वीरगञ्ज मुख्य भन्सार आइसिपीबाट नेपालको विभिन्न उद्योग–कलकारखानाका लागि कच्चा पदार्थ र अन्य व–मेटेरियल बोकेर भित्रिने भारतीय मालवाहक सवारीसाधनलाई अवैध रुपमा रकम असुली गर्ने गरेको गम्भीर आरोप लागेको छ ।
ट्राफिक पोस्ट ड्राइपोर्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक राम सहाय यादवको निर्देशनमा ड्राइपोर्ट र बहुवरी चौक बीच खडा गरिएको चेकपोस्टमार्फत सवारी साधन चेकजाँचको नाममा भारतीय मालवाहक ट्रक तथा कन्टेनरलाई “क्षमता भन्दा बढी भार बोकिएको” बहानामा रकम असुल्ने कार्य नियमित रूपमा चल्दै आएको पाइएको छ ।
देशमा बढ्दो बेतिथी, अस्वच्छ प्रशासनिक अभ्यास र भ्रस्टाचारले चरम सिमा नाघिरहेका बेला, परिवर्तनको आशामा हालसालै युवा पुस्ताले गरेको आन्दोलनको मर्मलाई समेत पर्सा ट्राफिक प्रहरीले गम्भीरतापूर्वक आत्मसात् नगरेको देखिन्छ । पुरानै चलन दोहोर्याउँदै, सवारी चालकलाई अनावश्यक दुःख दिने र अवैध रुपमा रकम उठाउने कार्य अझै निरन्तर रहेको तथ्य सार्वजनिक भएको छ ।
यसरी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ बोकेका मालवाहकलाई निरुत्साहित बनाउने, व्यवसायिक वातावरणमा नकारात्मक असर पुर्याउने र नेपाल सरकारकै राजस्व प्रणालीलाई प्रश्नवाचक चिन्हमा पार्ने गरी भइरहेको अवैध असुली कार्य तत्काल रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको छ ।