
वीरगञ्ज, १६ असोज ।
पर्साको वीरगञ्ज महानगरपालिका–१० स्थित गीता मन्दिर नजिक आइतबार राति झै–झगडामा परी ‘गोल्डेन’ भन्ने २४ वर्षीय शिवम साह कानुको कुटपिटबाट मृत्यु भएको घटनामा पर्सा प्रहरीले आज पत्रकार सम्मेलन गरि हत्यामा सन्लग्न पाँच जनालाइ सार्वजनिक गरेको छ । राति ११:३० बजे भएको घटनामा घाइते अवस्थामै उनलाई नारायणी अस्पताल पुर्याइएको थियो । तर उपचारकै क्रममा राति ११:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी उपरीक्षक सुदिप राज पाठकको कमाण्डमा प्रहरी निरीक्षक निरोज चौलागाईसहितको टोली खटिएको थियो । घटनास्थल तथा लासजाँच मुचुल्का कार्य सम्पन्न गरी शव पोष्टमार्टमपछि मृतकका बुवालाई जिम्मा दिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार मृतक साहको केही दिनदेखि विपक्षी समूहसँग विवाद हुँदै आएको थियो । सोही रिसईवी लिई विपक्षी समूहले बाँसको भाठ्ठा, हातमुक्का लगायतका प्रहार गरी कर्तव्य गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरगञ्ज–२४ रामगढवा निवासी १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल (करण प्रसाद पटेल), २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन् ।
अनुसन्धानको क्रममा घटनास्थलको CCTV फुटेज, भिडियो रेकर्ड तथा CDR विश्लेषणबाट उनीहरूको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ । पक्राउ कार्य वीरगञ्ज र भारत सीमा नजिकैको भिष्वा क्षेत्रबाट गरिएको हो ।
घटनाको मुख्य कारण पुरानो रिसईवी, प्रतिशोध तथा आफूलाई ‘ग्याङस्टार’ साबित गर्न चाहने प्रवृत्ति रहेको पर्सा प्रहरीले बताएको छ ।