बिरगंज, ४ माघ पर्सा ।
बिरगंज महानगरपालिका वडा नम्बर–१ स्थित बजार छपकैयाको सीमा नाकाबाट पछिल्लो समय तस्करी गतिविधि व्यापक रूपमा बढेको स्थानीय स्रोतहरूले बताएका छन्। छपकैया चौकी नजिकैको बासघारी क्षेत्र हुँदै भारतीय कपडा तथा अन्य सामग्री भन्सार छलि अवैध रूपमा भित्र्याइने गरेको आरोप लागेको छ।
स्थानीयका अनुसार तस्करहरूले मोटरसाइकलमार्फत कपडाका पोका तथा अन्य सामानहरू बिरगंज बजारस्थित विभिन्न ट्रान्सपोर्टसम्म पुर्याउने गरेका छन्। छपकैयाको लच्का घाट तथा छपकैया सानो भन्सार क्षेत्र आसपास बिहानदेखि रातिसम्म तस्करीसँग सम्बन्धित गतिविधि देखिने गरेको बताइएको छ।
स्रोतका अनुसार सीमामा खटिएका सुरक्षाकर्मीहरूको मिलेमतोमा काजु, किसमिस, भारतीय कपडा, जुत्ता–चप्पल, खाद्यान्नलगायत सामग्री ठूलो परिमाणमा अवैध रूपमा भित्रिने गरेको आरोप छ। हाल एक दर्जनभन्दा बढी व्यापारीहरू छपकैया नाका प्रयोग गरी तस्करीमा संलग्न रहेको दाबी गरिएको छ।
स्थानीय स्तरमा सिमा प्रहरी चौकी छपकैयाका इन्चार्ज बरिस्ठ सइ मदन बहादुर मल्लले घुमुवा प्रहरी हवल्दार उपेन्द्र यादव मार्फत लाखौको महिना उठाइरहेका छ्न । वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षकले घुमुवा खटाइ आर्थिक लाभ लिइ तस्करीलाई सघाइरहेका छ्न । त्यसै गरि सशस्त्र प्रहरी शिक्षा अफिस र ड्राइपोर्टबाट खट्ने सशस्त्र प्रहरीको नाममा मासिकरुपमा आर्थिक संकलन भइरहेको भन्ने आरोप पनि उठेको छ। ड्राइपोर्ट क्षेत्रमा खटिने सुरक्षाकर्मीसमेत तस्करीलाई सहज बनाइरहेको भन्ने गुनासो आएको छ।
तस्करीबाट भित्रिएका सामानहरू बिरगंजका ट्रान्सपोर्ट कम्पनीमार्फत देशका विभिन्न शहरमा पठाइने गरेको जानकारी प्राप्त भएको छ।
यस विषयमा सम्बन्धित सुरक्षा निकाय तथा प्रशासनिक अधिकारीहरूको ध्यानाकर्षण गराउँदै स्थानीयले निष्पक्ष छानबिन र कडा कारबाहीको माग गरेका छन्।








