वीरगन्ज ११ असार ।

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनका क्रममा हिन्दु धर्मावलम्बीहरूको धार्मिक आस्थामाथि गम्भीर ठेस पुग्ने गरी अभिव्यक्ति दिइएको भन्दै पर्साका दुई प्रमुख धार्मिक सङ्गठनहरूले विरोध जनाएका छन्। राष्ट्रिय बजरंग दल, पर्सा र नेपाल विश्व हिन्दु महासंघ, पर्साले बिहीबार संयुक्त रूपमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापन-पत्र बुझाएका हुन्। उक्त ज्ञापन-पत्रको एक-एक प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत बोधार्थ पठाइएको छ।

नेपाल विश्व हिन्दु महासंघ पर्साका अध्यक्ष श्रीनन्दन भारद्वाज र राष्ट्रिय बजरंग दल पर्साका प्रतिनिधि विवेक सिन्हासहितको संयुक्त टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर प्रजिअ दाहाललाई ज्ञापन-पत्र हस्तान्तरण गर्दै कानुनी कारबाहीको माग गरेको हो।

भगवान् राम र लक्ष्मणसँग नेताको तुलना गरिएकोमा आपत्ति
रास्वपाको महाधिवेशनमा वीरगन्जबाट सहभागी भएका प्रतिनिधि महबुब आलमले सञ्चारमाध्यमहरूमा सस्तो चर्चा कमाउने र राजनीतिक स्टन्टबाजी गर्ने कुत्सित नियतले यस्तो हर्कत गरेको ज्ञापन-पत्रमा उल्लेख छ। आलमले आफ्ना आराध्य देव भगवान श्री राम र लक्ष्मणलाई राजनीतिक दलका नेता रवि लामिछानेसँग तुलना गरी अराजनीतिक र अमर्यादित अभिव्यक्ति दिएको भन्दै दुवै सङ्गठनले यसको घोर भत्सर्ना र कडा शब्दमा निन्दा गरेका छन्।

कुनै पनि राजनीतिक व्यक्तिको देवत्वकरण वा महिमामण्डन गर्नका लागि करोडौँ हिन्दुहरूको आस्थाका प्रतीक भगवान श्री रामको नामलाई विवादमा तान्नु निकै निन्दनीय र घृणित कार्य भएको बजरंग दलका जिल्ला प्रतिनिधि विवेक सिन्हा र विश्व हिन्दु महासंघका अध्यक्ष श्रीनन्दन भारद्वाजले बताउनुभयो।

ज्ञापन-पत्रमार्फत अघि सारिएका मुख्य मागहरू:
प्रजिअमार्फत प्रधानमन्त्री कार्यालयलाई समेत बोधार्थ दिइएको ज्ञापन-पत्रमा निम्नलिखित माग र चेतावनीहरू अघि सारिएका छन्:

धार्मिक आस्थाको सम्मान: राजनीतिक प्रचार वा व्यक्तिगत स्वार्थका लागि आराध्य देवहरूको नाम दुरुपयोग गर्ने कार्य तत्काल बन्द गरियोस्।
सार्वजनिक माफीको माग: हिन्दुहरूको धार्मिक भावनामा आँच आउने गरी गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने सम्बन्धित व्यक्ति र त्यसलाई प्रश्रय दिने तत्वहरूले अविलम्ब सार्वजनिक रूपमा माफी माग्नुपर्नेछ।
आन्दोलनको चेतावनी: भविष्यमा हाम्रा देवी-देवता र सनातन धर्मलाई बदनाम गर्ने वा हल्का रूपमा प्रस्तुत गर्ने यस्ता हर्कतहरू दोहोरिएमा कडा विरोधमा उत्रन र कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन बाध्य हुने चेतावनी दिइएको छ।
ज्ञापन-पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले यस विषयलाई गम्भीरतापूर्वक लिएको र धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावमा खलल पुग्ने खालका गतिविधिलाई कानुन बमोजिम सम्बोधन गरिने बताउनुभयो। दुवै संस्थाले धर्म र संस्कृतिको रक्षाका लागि सम्पूर्ण सनातनी समुदायलाई एकजुट हुन समेत अपिल गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय