कलैया, असार १६ ।
सामाजिक उत्तरदायित्व तथा सामाजिक सेवामा प्रतिबद्ध व्यवसायिक संस्था एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रा.लिले एक्सपर्ट फाउन्डेसन मार्फत विभिन्न सरकारी निकायहरुको सहकार्यमा कोभिड–१९ को असरमा परेका व्यक्तिहरुलाई विभिन्न सहायताहरु प्रदान गर्दै आएको छ । यस संस्थाले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुलाई विभिन्न राहत प्याकेजहरु वितरण गरेको छ भने नेपालका विभिन्न स्थानमा खाद्यान्न वितरण, अक्सिजन सिलिन्डर वितरण, रक्तदान लगायतका सहायताहरु प्रदान गरिसकेको छ ।
यसै क्रममा आज असार १६ गते, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रा.लिले पनि एक्सपर्ट फाउन्डेसन मार्फत नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा बाराको कलैया अस्पतालमा १ लाख मुल्य बराबरको १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर १ थान सहयोग गरेको छ ।
एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेज प्रा.लि. वीरगंज शाखाका प्रबन्धक दिपक महर्जनले कलैया अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. गौरव महतोलाई १ थान १० लिटर क्षमता भएको अक्सिजन कन्सन्ट्रेटर हस्तानतरण गरेका हुन् ।
निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. गौरव महतोले एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेज प्रा.लि.ले कलैया अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेज प्रा.लि. वीरगंज शाखाका जन सम्पर्क अधिकृत एवं नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य विजय कुशवाहा तथा कलैया अस्पतालका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times