वीरगञ्ज, १० असोज । पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिनुभएको छ । यादवले शनिबार बिहानदेखि नै क्षेत्रमा विभिन्न कार्यक्रमहरु गरेर निर्वाचन केन्द्रित गतिविधिलाई अगाडि बढाउनु भएको हो ।

पूर्वमन्त्रीसमेत यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा अगुवा नेता तथा कार्यकर्ता भेला गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यादवले नेताको जनताले मूल्यांकन गर्ने बेला आइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्सा १ मा यसअघि जितेका पाँच जना सांसद्ले कति विकास गरे अनि विगत पाँच बर्षमा मैले कति काम गरे त्यो सबैका सामु छर्लङ्ग नै छ, अब यसको मूल्यांकन तपाईहरुले गरिदिनु होला ।”

यहि क्षेत्रले विगतमा प्रधानमन्त्रीसमेत पाएपनि उनि जितेर गइसकेपछि क्षेत्रमा एकपटक पनि फर्केर नआएको दृष्टान्त दिनुहँदै यादवले भन्नुभयो,‘म जनताको सेवक हुँ, जिते पनि हारे पनि जनताकै दु:खसुखमा साथ दिँदै आएको छु र दिरहने छु ।’

यादवले आफुले गरेका कामका बारेमा मतदातालाई बुझाउन कार्यकर्तासँग अनुरोध पनि गर्नुभयो । यादवले भन्नुभयो, ‘हुन त जनतालाई सबै थाहा छ, को नेता कस्तो छ, जितेर कसले कती काम गरेको छ, तैपनि चुनाव भएकाले जनता माझ आफना कामहरुका बारे सन्देश लिएर पुग्नै पर्छ ।’

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका साथै स्थानीय जसपाका अगुवा नेता कार्यकर्ताको उल्लेख्य संख्यामा सहभागीता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय