वीरगञ्ज १८ माघ ।
राष्ट्रिय भूमि आयोग पर्साले बुधबार वीरगञ्ज महानगरपालिकाका वडा अध्यक्ष तथा सचिवहरुलाई प्रशिक्षण दिएको छ ।
महानगरमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि खेल्नु पर्ने भूमिकाका विषयमा स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिइएको हो ।
आयोगले बुधबार वडा नम्वर १ देखि १६ सम्मका वडाध्यक्ष तथा सचिवहरुलाई प्रशिक्षण दिएको छ । दोस्रो चरणमा बाँकी ३२ नम्वरसम्मका वडाध्यक्षलाई प्रशिक्षण दिने कार्यक्रम रहेको आयोग पर्साका अध्यक्ष तबरेज अहमदले जानकारी दिए ।
भूमिहिन, सुकुम्बासी, दलित एवं अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा आयोग पर्साका अध्यक्ष तबरेज अहमदले जनप्रतिनिधि एवं कर्मचारीहरुलाई प्रशिक्षण दिएका थिए ।
हेर्दा सामान्य देखिए पनि निकै जटिल समस्या रहेकाले स्थानीय प्रतिनिधिले गम्भिरताका साथ समस्या समाधानमा ध्यान दिन पर्नेमा उनको जोड थियो । पाउनु पर्नेलाई नछुटाई जग्गा उपलब्ध गराउने काममा जनप्रतिनिधि सक्रिय भएर लागिदिन पर्ने उनले बताए ।
प्रशिक्षण कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले महानगरका हरेक वडामा वडास्तरीय समिति गठन भइसकेको भन्दै आयोगको निर्देशन बमोजिम जनप्रतिनिधिले आवश्यक प्रकृया अघि बढाउने बताउनुभयो ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहको सभापतित्वमा सुरु भएको अभिमुखिकरण प्रशिक्षण कार्यक्रममा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, आयोगका सदस्य सुरेन्द्र सिंह, हिमाल चन्द्र गौतम, हेम कुमारी भट्टराई, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय