वीरगन्ज,१८ साउन । वीरगन्ज महानगरपालिकाका जनप्रतिनिधीहरुले पानीको समस्या समाधानका लागि संघीय सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादवलाई गुहारेका छन् ।
बिहीबार वीरगन्जमा आयोजित कार्यक्रममा सहभागी खानेपानी मन्त्री यादवसामु महानगरका ३२ वटै वडाका वडाअध्यक्षहरुले महानगरमा खानेपानीको चरम संकट पारेकाले तत्काल समस्या समधान गरिदिन गुहार लगाएका हुन् ।
वीरगन्ज महानगरमा दुई हप्ता यतादेखि ९० प्रतिशत चापाकल सुक्दा खानेपानीको संकटसंग महानगरवासी जुधिरहेका छन् । महानगरपालिकाले वडा वडामा ट्यांकरबाट पानी वितरण गरिरहेको छ । तर त्यसले पानीको संकट नटरेकाले स्थायी समधानका लागि बिहीबार वीरगन्जमै खानेपानी मन्त्री यादवलाई बोलाएर महानगरपालिकाले छलफल कार्यक्रम गरेको थियो ।
उक्त कार्यक्रममा ३२ वटै वडाका वडाअध्यक्षहरुले पानीको चरम संकटले महानगरवासी त्राहिमाम भएकाले पानीको समस्या समधानका लागि मन्त्री यादवलाई गुहारे ।
वडाअध्यक्षहरुले महानगरका प्रायसबै चापाकलहरु सुकेर महानगरवासीले पिउने पानी समेत नपाउँदा कोरोना महामारीको भन्दापनि भयावह अवस्था सृजना भएको बतााए ।
वीरगन्ज २४ का वडाअध्यक्ष विजय कुर्मीले भने,‘ टोल टोलमा पानीको संकट छ , पानी बाँड्न ट्यांकर पुग्दा पालो थाप्न हानथाप हुन्छ , अहिले देखिएको पानीको संकट त कोरोना महामारीको भन्दापनि भयावह छ ।
वीरगन्ज ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताले भने,‘ यस्तो भयावह अवस्था त कोरोना महामारीका बेला पनि थिएन , एक एक थोपा पानीका लागि मान्छेहरु ब्याकुल छन् , अहिलेको पानीको संकटले कोरोनाकालको भन्दापनि विकराल समस्या भएको छ ।
वीरगन्ज २६ का वडा अध्यक्ष शम्भु मिश्राले महानगरमा अहिले देखिएको पानीको संकट समाधान महानगरपालिकाको एक्लो प्रयासले सम्भव नभएकाले यसमा संघ र प्रदेश सरकारले अग्रसरता लिनु पर्ने बताए । उनले भने,‘ ट्यांकरबाट ओसारेर घरघरमा पानी बाँडिरहेका छौ , राति १ बजेपछि मात्रै सुत्न पाइएको छ ।
मन्त्री यादव समक्ष वडाअध्यक्षहरुले हरेक वडाको सार्वजनिक स्थाानमा नेपाल खानेपानी संस्थानको धारा जडान गरिदिन आग्रहपनि गरे । साथै नीजी घरमा संस्थानको धारा जडान गर्ने प्रकृया झन्झटीलो हुनुका साथै समयपनि बढि लागिरहेकाले नगरवासी थप पिडामा परेको गुनासो उनिहरुले मन्त्रीलाई सुनाए ।त्यस कारण संस्थानको धारा जडान प्रकृया सहज र छिटो छरितो बनाइदिन उनले मन्त्री यादवसंग अनुरोधपनि गरे ।
वीरगन्ज ११ का वडाअध्यक्ष अजय चौरसियाले भने,‘ संस्थानको पाइप लाइन १ देखि १७ र १९ नम्बर वडामा मात्रै छ , बाँकी १४ वटा वडामा पाइपलाइन नै छैन , पाइपलाइन पुगेका ठाँउमा पनि संस्थानले सहज र छिटोछरितो धारा जडान गरिरहेको छैन ।
वीरगन्ज ५ का वडाअध्यक्ष प्रदीप चौरसियाले वीरगन्जस्थित खानेपानी संस्थानमा जनशक्तिको अभावका कारण धारा जडानमा समस्या भइरहेकाले आवश्यक जनशक्ति थपिदिन मन्त्री यादवसंग आग्रह गरे ।
वीरगन्ज २२ का वडाअध्यक्ष द्वारिका महत्तोले महानगरका विभिन्न वडामा प्रयोगविहिन रहेका इनारहरुको जीर्णेद्वार गरि पानीको प्रबन्ध मिलाई दिन मन्त्री यादवसंग अनुरोध गरे ।
वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले महानगरका ३२ मध्ये २२ वटा वडा ( वडा नम्बर १ देखि १७ र १९ ) मा रहेका ९० प्रतिशत चापाकल सुकेको जानकारी गराए ।
पानीको हाहाकारले संकट खेपिरहेका महानगरबासीलाई राहत दिन महानगरपालिकाले ठाँउ ठाँउमा डिप बोरिङ र सार्वजनिक धारा जडान गर्नुका साथै ट्यांकरबाट पानी वितरण गरिरहेको उनले बताए । तर महानगरपालिका भएको सिमित बजेट र श्रोत–साधनले थेग्न नसकिरहेकाले यसमा संघ र प्रदेश सरकारले तत्कालै अग्रसरता लिनुपर्ने उनले बताए । उनले मधेसलाई तत्काल ‘ सुख्खाग्रस्त क्षेत्र’ घोषणा गर्न संघ सरकारसंग मागपनि गरे ।
कार्यक्रममा खानेपानी संस्थानका वीरगन्ज शाखा प्रमुख निरण महर्जनले कार्यालयमा नयाँ धारा जडान गर्न चाहने सेवाग्राहीको चाप एक्कासी बढेकोले जनशक्तिको कमीले समस्या भएको बताए । उनले भने,‘ पानीको समस्या सुरु भएपछि सेवाग्राहीको चाप बढ्यो , त्यसलाई मध्यनजर गरि जनशक्ति थप्नका लागि माथिल्लो निकायमा पत्रचार गरिसकेका छौ , अहिलेभने भएकै जनशक्ति र श्रोतसाधनको भरपुर उपयोग गरिरहेका छौ । दैनिक ३० देखि ४० वटा नयाँ धारा जडान गरिरहेको जानकारीपनि उनले गराए ।
खानेपानी संस्थानका अध्यक्ष गुणाकर भुषालले खानेपानीको चरम संकटको सामना गरिरहेको वीरगन्ज महानगरमा संस्थानले अरु ५ वटा महानगर भन्दा सबै भन्दा बढि जनशक्ति र श्रोतसाधान उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
संस्थानका महाप्रबन्धक ईश्वर प्रसाद मरासिनीले संस्थानको पाइप लाइन नबिछ्याइएका महानगरका बाँकी १४ वटा वडामा पाइपलाइन बिछ्याउनका लागिग आवश्यक बजेटको व्यवस्थापन गरिदिन मन्त्री यादवसंग अनुरोध गरे ।
कार्यक्रममा सहभागी प्रदेश सभा सदस्य श्याम पटेलले वीरगन्ज महानगरसहित पर्सा जिल्लामा देखिएको पानीको संकट बारे अहिलेसम्म बैठक र भाषण गर्ने काममात्रै भएका तर समस्या समाधानका लागि कुनै ठोस पहल हुन नसकेको टिप्पणी गरे ।
मन्त्री यादव समक्ष आक्रोश पोख्दै पटेलले भने,‘ बैठक र भाषण धेरै भयो अहिलेसम्म , त्यसका कारण अब सरकार र यसको निकायले काम गर्नु पर्यो ।
पालिकासंग पर्याप्त बजेट र श्रोतसाधन भएकाले खानेपानी मन्त्रालयले तत्काल बजेटको व्यवस्थापन गरेर जनतालाई राहत पुर्याउनु पर्नेमा उनले जोड दिए ।
पर्सा २ का प्रतिनिधी सभा सदस्य अजय चौरसियाले अर्थमन्त्री प्रकाशरण महतलाई नै भेटेर वीरगन्जसहित पर्सा जिल्लामा निम्तिएको पानीको संकट समाधानका लागि आवश्यक बजेट व्यवस्थापन गरिदिन आग्रह गरेको जानकारी गराए ।
संसद विकास कोषको रकम १ करोड भन्दा कमको योजनामा खर्च गर्न नपाउने संवैधानिक प्रावधानले समस्या भएको बताउदैं उनले भने,‘ त्यसमापनि संसद विकास कोष विरुद्ध सर्वोच्च अदालतमा मुद्धा परेको छ , त्यो मुद्धा छिनोफानो हुने बित्तिक्कै मैले मेरो संंसद विकास कोषको १ करोड रकम डिप बोरिङ जडानमा खर्च गर्ने घोषणा अहिलेनै गर्छु ।
उनले संस्थानमा सेवाग्राहीको चाप बढेकाले त्यसअनुसारको जनशक्ति तत्काल थप गरिदिन मन्त्री यादवसंग आग्रह गरे ।
पर्साका १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादवले वीरगन्जसहित मधेसमा अहिले भइरहेको पानीको संकट बारे आफुले संसदमा पटक पटक आवाज उठाएको बताए । यसका साथै प्रधानमन्त्रीसमेतलाई भेटेर ध्यानाकर्षण गराइसकेको उनले सुनाए । तर यति गर्दापनि संघ सरकार समस्या समाधानका लागि पहल गर्नुको सट्टा कानमा तेल हालेर बसेको गुनासो उनले गरे ।
उनले भने,‘ वीरगन्जसहित मधेसमा अहिले पानीको हाहाकार छ , मधेसमाथि यत्रो बज्रपात पर्दापनि संघ सरकार कानमा तेल हालेर बसेको छ , आजपनि मधेसलाई हेर्ने संघ सरकारको नजर विभेदकारी छ ।
मन्त्रीस्तरीय निर्णयबाट मधेस प्रदेशलाई ‘ सुख्खाग्रस्त क्षेत्र’ घोषणा गरेर यहाँका जनतालाई राहत दिन उनले आग्रह गरे । यसका साथै अहिले तत्कालका लागि वीरगन्जस्थित संस्थानको शाखा कार्यालयमा जनशक्ति थपिदिन मन्त्री यादवसंग उननले अनुरोध गरे ।
कार्यक्रममा सहभागी वीरगन्ज महानगर र पर्साका जनप्रतिनिधीहरुको गुनासो सुनेपछि खानेपानी मन्त्री यादवले अब बस्ने मन्त्रीपरिषद बैठकबाटै मधेस प्रदेशलाई ‘सुख्खाग्रस्त क्षेत्र’ घोषणा गराउने प्रतिबद्धता जनाए ।
पानीको संकटको सबैभन्दा बढि सामना गरिरहेकोे वीरगन्ज महानगरपालिका मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताउदै मन्त्री यादवले उपलब्ध साधन–श्रोत र बजेटले भ्याएसम्म महानगरको समस्या समाधानमा आफु लाग्ने बताए ।
उनले वीरगन्जस्थित संस्थानको कार्यालयमा अन्य जिल्लाबाट जनशक्ति झिकाएर थप गर्ने र अहिले उपलब्ध जनशक्ति र साधन–श्रोतको भरपुर उपयोग गरेर सेवा प्रवाह गर्न कार्यक्रममा सहभागी संस्थानका अध्यक्ष , महाप्रबन्धक र शाखा प्रमुखलाई निर्देशनपनि दिए ।
उनले नयाँ धारा जडानको प्रकृया सहज र छिटोछरितो बनाउनपनि संस्थानका कर्मचारीलाई निर्देशन दिए ।
महानगरका मेयर सिंहको अध्यक्षतमा भएको उक्त छलफल कार्यक्रममा प्रदेश सभा सदस्य प्रमोद जयसवाल , जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ ,संविधानसभा सदस्य अजय द्विवेदी , वीरगन्ज महानगरपालिका उपमेयर इम्तियाज आलम , पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , नेपाली कांग्रेसका महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ , जनता समाजवादी पार्टीका महानगर अध्यक्ष इश्वरचन्द्र यादव, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलका साथै महानगरका ३२ वटै वडाका वडाअध्यक्ष , राजनीतिक दलका नेता लगायतको सहभागीता थियो ।