राम कुशवाहा
बिरगंज ८ भदौ ।
तिज पर्व नेपाली महिलाहरूको लागि विशेष महत्व राख्ने पर्व हो, जसमा उनीहरू कठोर व्रत गरेर आफ्ना श्रीमानहरूको दीर्घायुको कामना गर्छन्। तर, पछिल्लो समय तिज पर्वको पवित्रता र संस्कारमा प्रश्न उठ्ने खालका घटनाहरू देखा परिरहेका छन्।

यसै क्रममा, आज बिरगंजको एक होटेलमा आयोजित दर खाने कार्यक्रममा भोजपुरी छाडा गानामा महिला दिदीबहिनीहरूले नाचगान गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ। भिडियोमा महिलाहरू “तोरा जैसन मर्दाके चुलिएमे जोरदेम” जस्तो अशोभनीय गानामा नाचिरहेको देखिन्छ, जसले तिज पर्वको पवित्रता माथि प्रश्न खडा गरेको छ।

सामाजिक संजालमा यो भिडियोको व्यापक आलोचना भइरहेको छ। धेरै प्रयोगकर्ताहरूले तिज पर्वको नाममा यस्तो असभ्यता फैलाउनु अनुचित रहेको टिप्पणी गरेका छन्। तिजको वास्तविक महत्वलाई बिर्सेर यस्तो प्रकारका गानामा नाचगान गर्नुले संस्कार र परम्पराको अपमान भएको भन्दै आलोचना गरेका छन्।

तिज पर्व, जहाँ महिलाहरूले आफ्ना श्रीमानको लामो आयुका लागि व्रत बस्ने परम्परा रहेको छ, त्यस्तो पर्वमा श्रीमानलाई चुल्होमा हाल्ने गानामा नाचगान गर्नुले समाजमा गलत सन्देश पुर्‍याएको छ। यस किसिमका क्रियाकलापहरूले तिज पर्वको पवित्रता र मौलिकतालाई संकटमा पार्दैछन्।

तिज पर्वको सन्दर्भमा मौलिकता र संस्कारलाई जोगाउन हामी सबैले सचेत रहनु आवश्यक छ। यस प्रकारका अशोभनीय गतिविधिहरूले तिज पर्वको महत्वलाई कमजोर पार्ने मात्र नभई हाम्रो सांस्कृतिक धरोहरलाई पनि नष्ट गर्ने सम्भावना छ। अतः तिज पर्वको वास्तविक अर्थ र महत्वलाई सम्मान गर्दै यस पर्वलाई मर्यादित ढंगले मनाउनेतर्फ सबैको ध्यान जानु जरुरी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय