वीरगंज १८ भदौ ।
दरबन्दी मिलानमा असहमति राख्दै आएको नेपाल शिक्षक महासंघ वीरगंज महानगरसँग समन्वय गरेर अघि बढ्न तयार भएको छ ।
मंगलबार महानगरपालिका र शिक्षक महासंघका प्रतिनिधिबीच छलफल भएसँगै महानगरको शैक्षिक वातावरणमा कुनै पनि असर नपार्ने गरि आफुहरु महानगरको उद्देश्य अनुरुप अघि बढ्न तयार भएको जनाएको हो ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहले शिक्षकहरुलाई कुनै समस्या भए सम्बोधन गर्न आफू तयार रहेको बताउनु भयो । कुनै त्रुटी भए सच्याउन आफू सँधै तयार रहेको भन्दै उहाँले त्यसका लागि शिक्षकहरु पनि आन्दोलन छाडेर छलफलमा आउनुपर्ने बताउनु भयो ।
यस्तै महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले शिक्षकहरुले आफ्ना समस्या सम्बन्धित स्थानमा राख्न पर्नेमा शैक्षिक वातावरण नै विगार्ने गरि वक्तब्यबाजी गर्दै हिँड्नु शोभनीय नभएको भन्दै आउँदा दिनमा यस्ता कमजोरी आउन नदिन सचेत गराउनु भयो ।
उहाँले शिक्षकहरु आफ्नै परिवारका भएकाले उनीहरुको समस्या आफ्नो पनि समस्या रहेको भन्दै छलफल मार्फत नै समाधान निस्कने विश्वास दिलाउनु भयो ।
‘तपाईहरुको समस्या तपाईहरुको मात्रै हैन हाम्रो पनि हो, समस्या समाधानमा हामी गम्भीर छौं, ‘तर यहाँ आएर छलफल गर्नुको सट्टा बाहिर बाहिर वक्तब्यबाजी गर्दै हिड्दा समस्या कहाँ सुल्झन्छ र ? उहाँले प्रश्न गर्नुभयो ।
स्थानीय सरकारले गरेको निर्णय कार्यान्वयन गर्दै खटाइएको स्थानमा गएर शैक्षिक कृयाकलाप अघि बढाउनु शिक्षकहरुको दायित्व भएको पनि उहाँले स्पष्ट पार्नु भयो ।
शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णले शिक्षकहरुको मानसम्मानमा आघात नपुग्ने गरि निर्णय गरिएको र यसमा पनि कुनै समस्या रहेको भए आफुहरु सच्चाउन तयार रहेको बताउनु भयो ।
शिक्षा समितिको निर्णय बमोजिम नै दरबन्दी मिलानको काम गरिएकाले त्यसमा अप्ट्यारा परेका शिक्षकहरुले आफ्नो असहमति खुलाएर महाशाखालाई जानकारी गराए पुनरावलोकनका लागि समितिमा लैजान आफू सँधै तयार रहेको बताउनु भयो ।
छलफलमा शिक्षक महासंघका नगर समिति अध्यक्ष प्रदीप जयसवालले आफु र आफ्ना शिक्षक साथीहरुको समस्या समयमै सम्बोधन नहुँदा आफुहरु विभिन्न ठाउँमा दौडन बाध्य भएको बताउनुभयो ।
वास्तविक समस्यामा परेका शिक्षकहरुको माग सम्बोधन गर्न महानगर तयार देखिएकाले बाँकी असहमतिका कुराहरु आपसी समन्वयमा समाधान गर्न आफुहरू तयार भएको बताउनु भयो ।
छलफलमा महासंघका महानगर सचिव सुमु प्रसाद सोनार (सन्तोष), विजय यादब लगायतको सहभागिता रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times