काठमाडौँ —अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । शनिबार दिउँसो २ बजेसम्म देशभर ४१ जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् । बाढीमा फसेका सयौँ मानिसहरूको उद्धार भएको छ ।
कान्तिपुर संवाददाताहरूले पठाएको विवरणअनुसार शनिबार अपरान्हसम्म काठमाडौँमा ९, ललितपुरमा ९, भक्तपुरमा ५, काभ्रेपलाञ्चोकमा ६, सिन्धपाल्चोकमा २, पाँचथरमा ५, धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १-१ जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परेर दर्जनौँ घाइते भएका छन् भने अरू दर्जनौँ बेपत्ता छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा मात्रै २३ जनाको मृत्यु भएको छ । ११ जना बेपत्ता छन् ।
सशस्त्र प्रहरीले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्रको टोलीले सात सय ६० जनाको सकुशल उद्धार गरेको सहप्रवक्ता थापाले जानकारी दिए ।

प्रहरीका अनुसार देशभर ४४ जिल्लामा बाढी, पहिरो, डुबान र कटानले क्षति पुर्‍याएको छ । त्यसमध्ये ३९ जिल्लाका विभिन्न सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् । केही ठाउँमा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । साभार – कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय