बिरगंज ।
देशभर आज नवरात्रको तेस्रो दिन विशेष पूजा र श्रद्धाभावका साथ माता चन्द्रघण्टाको पूजा गरिंदैछ। माता चन्द्रघण्टा दुर्गा देवीको तेस्रो स्वरूप मानिन्छिन्, जो साहस, शान्ति र सन्तुलनको प्रतीक हुन्। भक्तजनहरूले आजको दिन देवीलाई अर्पण गरिने पूजा र आराधनाबाट साहस, शान्ति, र मानसिक सन्तुलन प्राप्त गर्ने विश्वास राख्दछन्।
चन्द्रघण्टा माता सिंहवाहिनी हुन् र उनका दश हातमा विभिन्न अस्त्र-शस्त्रहरू छन्। उनको पूजाले मनका भय, तनाव, र नकारात्मक ऊर्जाबाट मुक्ति दिलाउँछ भन्ने धार्मिक मान्यता छ। देशभरका विभिन्न मन्दिरहरूमा माता चन्द्रघण्टाको विशेष पूजा आयोजना भइरहेको छ भने घरघरमा पनि भक्तहरूले विधिपूर्वक पूजा गर्दै देवीको कृपा प्राप्त गर्न प्राथना गरिरहेका छन्।
यस दिनलाई विशेष मान्दै श्रद्धालुहरूले विशेष पूजा, पाठ, र भजन-कीर्तनको आयोजना गर्दै धार्मिक परम्परालाई जीवित राखिरहेका छन्।