
पर्सा ३० बैशाख ।
व्यापारिक केन्द्रका रूपमा परिचित सीमावर्ती सहर बिरगंजमा अवैध हुन्डी कारोबार तीव्र गतिमा बढिरहेको छ। मनी ट्रान्सफरको आडमा हुने यस्ता गैरकानुनी आर्थिक गतिविधि नियन्त्रण गर्न स्थानीय सुरक्षानिकाय असफल देखिएको छ।
प्रहरी स्रोतका अनुसार, बिरगंजमा दर्ता भएका विभिन्न मनिचेन्जरहरुमार्फत दैनिकरुपमा ३० लाखदेखि ८० लाख रुपैयाँसम्मको हुन्डी रकम विभिन्न बैंक खातामा जम्मा हुने गरेको छ। ती रकमहरू अन्य जिल्ला तथा विदेशबाट भित्रिने भाउचरको माध्यमबाट कारोबारमा प्रयोग भइरहेको खुलासा भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) बाट खटिएको टोलीले हालै पर्सा, काठमाडौंसहित विभिन्न जिल्लाबाट २१ जनालाई मनिचेन्जरमार्फत अवैध रुपमा हुन्डी कारोबार गरेको आरोपमा नियन्त्रणमा लिएको छ। तर यति ठूलो कारोबार भइरहँदा पनि स्थानीय प्रहरी प्रशासन मौन बस्नु, वा जानकारी हुँदाहुँदै पनि प्रभावकारी कदम नचाल्नु, प्रश्नको विषय बनेको छ।
विगत केही वर्षदेखि हुन्डी कारोबार बढ्दो अवस्थामा रहँदा समेत स्थानीय प्रहरीले गम्भीर अनुसन्धान वा निगरानी नगरेको आरोप लागिरहेको छ। कतिपय मनिचेन्जरहरुले खुलेआम वैध कारोबारको आडमा कालो कारोबार गरिरहेका छन् तर तिनमाथि कारबाही नहुनु, प्रहरीसँगको साँठगाँठको आशंकासमेत उठ्न थालेको छ।
वित्तीय विश्लेषकहरूका अनुसार यस्तो कारोबारले देशको बैंकिङ प्रणालीमा गम्भीर असर पार्ने, वैदेशिक मुद्राको अभाव निम्त्याउने र राष्ट्रको अर्थतन्त्रलाई कमजोर बनाउने खतरा रहन्छ। कर छलि, मुद्धा फेर्नु, र अन्तर्राष्ट्रिय अवैध कारोबारमा संलग्नता जस्ता जोखिम पनि यस्ता गतिविधिबाट बढ्न सक्छन्।
स्थानीय प्रहरी प्रमुखहरूले भने अनुगमनलाई थप प्रभावकारी बनाउने दाबी गरे पनि ground-level मा खासै परिणाममुखी कदम नदेखिनु स्वयं प्रहरीप्रतिको जनविश्वास कमजोर बनाउने कार्य भएको विश्लेषण गरिएको छ।
अब, केन्द्रीय निकायको दबाबमा स्थानीय सुरक्षानिकायले कडा निगरानी गर्ने, संलग्नहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाउने र मनिचेन्जर कारोबारलाई पारदर्शी बनाउने दिशामा काम गर्नुपर्ने आवश्यकता देखिएको छ।