वीरगन्ज, २३ जेठ – पर्सा जिल्लामा पछिल्ला दिनमा मोटरसाइकल चोरीको घटनामा तीव्र वृद्धि भएको पाइएको छ। प्रहरीले प्राप्त विवरणअनुसार यी चोरीका घटनामा प्रायः संगठित गिरोहको संलग्नता देखिएको छ। यस्ता गिरोहहरू समूहमा विभाजन भई मोटरसाइकल पार्किङ, सवारीधनी र घरको निगरानी गर्दै मौका हेरी चोरी गर्ने गर्छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २६३ वटा मोटरसाइकल चोरी भएका थिए। तीमध्ये १३ वटा मात्र फेला पार्न सकिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए। चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा मात्रै १५१ वटा मोटरसाइकल चोरी भएका छन् भने त्यसमा पनि जम्मा पाँचवटा मात्रै फेला परेका छन्।
प्रहरीका अनुसार अहिले जिल्लामा दिनहुँ एकदेखि दुईवटासम्म मोटरसाइकल चोरीको सूचना प्राप्त भइरहेका छन्। तर चोरीको निवेदन आए पनि आधिकारिक रूपमा जाहेरी भने निकै कम आउने गरेको प्रवक्ता लम्सालले बताए।
चोरी भएका मोटरसाइकलमध्ये केही फेला पारी सवारीधनीलाई बुझाइएको पनि प्रहरीले जनाएको छ। मोटरसाइकल बढी घर र बजार क्षेत्रमा पार्किङ गरिएको स्थानबाट चोरी हुने गरेको पाइएको छ।
प्रहरीका अनुसार चोरीपछि मोटरसाइकल सीमावर्ती भारतीय सहरतर्फ लाने गरिएकोले पनि फेला पार्न थप चुनौती भइरहेको छ। वीरगन्जबाट चोरी भएका केही मोटरसाइकलहरू मिनेटमै सीमापार पुगेको प्रमाण सिसिटिभी फुटेजमार्फत देखिएको प्रहरीले जनाएको छ।








