वीरगञ्ज, ९ पौष ।
Generation-Z (Gen-Z) आन्दोलनका क्रममा केन्द्रीय कारागार, काठमाडौंबाट फरार भएका दुई जना कैदीलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला बारा विश्रामपुर गाउँपालिका–४ निवासी वर्ष २५ का प्रदेशी भन्ने सुदामा पासवानलाई पक्राउ गरेको हो। कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २५ वर्ष कैद सजाय भोगिरहेका पासवान Gen-Z आन्दोलनका क्रममा मिति २०८२/०४/२३ गते केन्द्रीय कारागारबाट फरार भएका थिए। उनलाई मिति २०८२/०९/८ गते बिहान ९:५० बजे वीरगञ्ज महानगरपालिका–१५ स्थित क्षेत्रबाट पक्राउ गरी वीरगञ्ज कारागारमा बुझाइएको प्रहरीले जनाएको छ।
त्यस्तै, जिल्ला बारा परवानीपुर गाउँपालिका–२ निवासी वर्ष ३२ का विवेकलाल साह कानुलाई पनि पक्राउ गरिएको छ। बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट फैसला भई ५० हजार रुपैयाँ जरिवाना तिर्न नसकी केन्द्रीय कारागार सुन्धारा (भद्रगोल), काठमाडौंमा कैद भोगिरहेका साह पनि Gen-Z आन्दोलनकै क्रममा फरार भएका थिए। उनलाई मिति २०८२/०९/८ गते बिहान ५:०० बजे वीरगञ्ज महानगरपालिका–४ स्थित क्षेत्रबाट पक्राउ गरी वीरगञ्ज कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले फरार कैदी पक्राउ अभियानलाई निरन्तरता दिने जनाएको छ।








