बिरगंज २४ माघ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत ट्राफिक प्रहरी हवल्दार राजकुमार गोलेमाथि लागेको आर्थिक चलखेलसम्बन्धी गम्भीर आरोपका बाबजुद पनि उनको गतिविधिमा कुनै कमी नआएको भन्दै कार्यालयभित्रैबाट असन्तुष्टि बढ्दै गएको छ। स्रोतहरूका अनुसार गोलेको प्रभाव र दबदबा अहिले पनि यथावत रहेको बताइन्छ।
यसअघि गोलेले एकै व्यक्तिले बहु–भूमिका निर्वाह गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा हवल्दार मेजरसरह प्रभाव, कार्यालय क्लर्कको पहुँच तथा यातायात व्यवस्था कार्यालय वीरगंज अन्तर्गतको ट्रायल सेन्टरसम्म दखल जमाएको आरोप सार्वजनिक भएको थियो। तर ती आरोपहरूबारे स्पष्ट छानबिन र कारबाही नहुँदा उनको रजगज झन् बढेको गुनासो प्रहरी वृत्तमै सुनिन थालेको छ।
स्रोतका अनुसार ट्राफिक सिफारिस, ई–रिक्सा संघसँगको समन्वय तथा ट्रायल सेन्टरसँग सम्बन्धित काममा गोलेको एकल पहुँच कायमै रहेको छ। महिनावारी रकम उठाउने, सिफारिसका नाममा सर्वसाधारणसँग रकम असुल्ने जस्ता आरोपहरू पहिलेजस्तै जारी रहेको दाबी गरिँदै आएको छ।
कार्यालयभित्रका केही ट्राफिक प्रहरी कर्मचारीहरू गोलेको व्यवहार र प्रभावबाट अझै पनि मानसिक दबाबमा रहेको बताउँछन्। एक जना कर्मचारीका अनुसार “आरोप सार्वजनिक भइसके पनि कुनै परिवर्तन नआउनुले इमान्दार रूपमा काम गर्न चाहने प्रहरीहरू निरुत्साहित भएका छन्।”
सरोकारवालाहरूले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आए पनि ठोस छानबिन र निष्पक्ष कारबाही नदेखिँदा नेपाल प्रहरीको संस्थागत छविमाथि नै प्रश्न उठ्ने खतरा रहेको उनीहरूको भनाइ छ। यदि यी आरोपहरूलाई बेवास्ता गरिँदै लगियो भने पर्सा ट्राफिक कार्यालयभित्रको अनुशासन र पारदर्शितामा गम्भीर असर पर्ने देखिएको छ। ट्राफिक प्रहरी हवल्दार राजकुमार गोलेले माथिलो तहको हाकिमहरु सङ राम्रै चिनजान रहेकोले केही फरक नपर्ने भन्दै हिडेका छ्न । सम्बन्धित निकायको ध्यान जाओस ।








