राम कुशवाहा
वीरगंज २२ वैशाख ।
स्थानीय जनप्रतिनिधिको बेवास्ताका कारण भारतीय सरकारको अनुदानमा विद्यालयलाई प्राप्त बस विगत २ वर्षदेखि त्यत्तिकै थन्किएको छ । पर्साको धोबिनी गांउपालिका वडा नं. २ स्थित श्री नेपाल राष्ट्रिय मावि भिखमपुरलाई भारतीय सरकारले अनुदानमा दिएको बस प्रयोग विहिन अवस्थामा थन्किएको हो । बस अनुदानमा प्राप्त भएपनि संचालनका लागि आवश्यक पर्ने इन्धन खर्च र चालक तथा सहयोगीको खर्चको जोहो हुन नसक्दा विगत २ वर्षदेखि बस त्रिपालले छोपेर थन्काइएको स्थानीय अभिभावकहरुले बताएका छन् । बस संचालनमा लागि मासिक लगभग २५ हजार रुपैंया आवश्यक पर्नेमा विद्यालय, वडा कार्यालय र गाँउपालिकाका कार्यालय कसैले पनि खर्च जुटाउन पहल नगरेको स्थानीय अभिभावकको आरोप छ । विद्यालयमा आयश्रोतको कमी रहेको हुदां बस संचालन गर्न नसकिएको विद्यालयका प्रधानाध्याक अरमुल्लाह आलमले बताउनुभयो । समस्या समाधानका लागि गाउँपालिकाका अध्यक्ष सुरेश प्रसाद कुर्मीलाई पटक पटक आग्रह गर्दा पनि कुनै सनुवाई नभएको अभिभावकहरु बताउँछन् । बस संचालन नहुदां जानकी टोला, आसवारी, गुलरिया, दशौता, भिखमपुर, पाडेपुर, जमुनिया लगायतका ठाँउबाट आउने विद्यार्थीहरु चर्को घाममा पैदल आउन बाध्य भएको स्थानीय अभिभावक दिलीप कुमार मिश्राले गुनासो गर्नुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times