बीरगंज ४ असोज ।
गाडी विक्रेताले उच्च नाफा लिएर उपभोक्ताको शोषण गरिरहेको आरोप लागिरहेका बेला वीरगञ्जमा भन्सार प्रशासनले सीमित आयातकर्ताको हित सुरक्षित हुने गरी कदम चालेको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालयले तेस्रो मुलुकबाट आयातित तीनओटा विद्युतीय गाडी रोकेको हो । भन्सार विभागको निर्देशनमा बन्दरगाह भन्सारले आयातकर्ताको आधिकारिकतामा प्रश्न उठाएर जाँचपास अड्काएको बताइएको छ । वीरगञ्ज सुक्खा बन्दरगाहमा ल्याइएका गाडी त्यहाँको भन्सारले ३ हप्ताअघि कागजात नपुगेको भन्दै रोकेर राखेको छ । गाडी आयात गर्ने कम्पनी ती गाडीका आधिकारिक आयातकर्ता भए÷नभएको पत्ता लगाउन आवश्यक कागजात माग गरिएको बन्दरगाह भन्सारका अधिकारीहरूले बताए । काठमाडौंको किशोर गियर्स प्रालिले बेलायतबाट भित्र्याएका दुई ओटा ज्यागुअर विद्युतीय कार र वेस्टर्न ग्यालेक्सी ट्रेडिङ प्रालिले अमेरिकाबाट आयात गरेको टेस्ला कारको जाँचपास रोकिएको बन्दरगाह भन्सारका सूचना अधिकृत विकास कुमारले बताउनु भयो । कानूनी प्रावधानअनुसार आयातकर्ताको आधिकारिकता जाँच्न कागजपत्र मागिएको बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी दिनुभयो । सरकारले आधिकारिक विक्रेताले मात्रै गाडी भित्र्याएर विक्री वितरण गर्न पाउने कानूनी व्यवस्थामार्फत व्यवसायीलाई उच्च नाफा कमाउने व्यवस्था मिलाइदिएको यस घटनाले पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय