वीरगञ्ज, २ असार ।
साहिब दरबार वीरगञ्जको आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा १ सय ५५ जनाले रक्तदान गरेका छन् ।
यहाँस्थित जैन धर्मशालामा शनिबार बिहान ७ बजेदेखि सुरु भएको कार्यक्रममा ८ जना महिलासहित १ सय ५५ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले शरिरको रगत तीन तीन महिनामा त्यत्तिकै खेर जाने भएकोले रक्तदान गरि पुण्य कमाउन आग्रह गर्नुभयो ।
रक्तदान गर्ने रक्तदाताहरुलाई महानगरप्रमुख सिंहले प्रमाणपत्र हस्तान्तरणसमेत गर्नुभएको थियो ।
अत्याधिक गर्मीका कारण रक्तदान कार्यक्रममा कमी आउँदा केही समय यता वीरगञ्जमा रगतको अभाव सृजना भएको रक्तसञ्चार केन्द्र वीरगञ्जले जनाएको छ । रगत अभावमा यहाँका डेढ दर्जन अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचारमा समस्या आउन थालेपछि साहिब दरबारले रगतको अभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष उमेशलाल सहनीले बताउनुभयो ।
रक्तदान कार्यक्रममा साहिब दरबारका सस्थापक सदस्य एवं समाजसेवी अन्नपूर्ण मानन्धर, वडा नम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, संस्थाकी कोषाध्यक्ष प्रेरणा श्रेष्ठ, प्रतिमा सिंह लगायतको सहभागिता रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times