वीरगंज पर्सा, २६ वैशाख । नारायणी अस्पतालको चिकित्सकको बदमासिको कारण एक ७ वर्षीय बच्चाको शल्यक्रिया गर्नुपर्ने अवस्था सृजना भएको छ । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवा निवासी अशेसर पटेलको ७ वर्षीय छोरा कृष्णा पटेलको छातीमा समस्या आई नारायणी अस्पतालमा उपचारका लागि लगेकोमा त्यहाँ कार्यरत डा. पप्पु जयसवाल र डा. सुरज कुर्मीको चरम लापरवाहीको कारण बालकको शल्यक्रिया गर्नुपर्ने अवस्था सृजना भएको हो ।
छातीमा साधारण चोट लागि ५० एम.एल. रगत जमेको देखिएपछि उपचारको लागि शुक्रबार नारायणी अस्पताल लगिएकोमा चिकित्सकद्वयले तीन दिनसम्म उपचार नगरेका कारण छातीमा गम्भिर समस्या आई नेशनल मेडिकल कलेजमा शल्यक्रिया गर्नुपर्ने अवस्था आएको बालकका बुवा अशेसर पटेलले जानकारी दिए । उनका अनुसार शुक्रबार अस्पतालमा लगेपछि चिकित्सकहरुले शुक्रबार, शनिबार र आइतबारसम्म उपचार नगरेकै कारण आइतबार साँझ छातीमा गम्भिर समस्या आएको बताए ।
तीनसम्म बच्चाको कुनै किसिमको चेकजाँच नगरि औषधी नचलाएको उनको आरोप छ । शुक्रबार अस्पतालमा लैजाँदा चिकित्सक डा. पप्पु जयसवालले आफ्नो निगरानीमा अस्पतालमा भर्ना गराएका थिए । त्यस पश्चात दुईदिनसम्म उनले अस्पतालमा राखेर कुनैकिसिमको उपचार नगर्दा समस्या जटिल बन्दै गएपछि आइतबार साँझ मात्रै ड्युटीमा आएका डा. सुरज कुर्मीले यहाँ उपचार सम्भव नरहेको भन्दै नेशनल मेडिकल कलेजमा रेफर गरेका थिए ।
विरामी बच्चाका बुवा अशेसर पटेलले भने ‘शुक्रबार ५० एम.एल. मात्रै रगत जमेको थियो, चिकित्सकले आफ्नो निगरानीमा राख्नका लागि भर्ना गरेर उपचार नगर्दा आइतबार छोराको अवस्था गम्भिर भएपछि आफैले सिटि स्केन गराउँदा २५० एम.एल. रगत जमिसकेको थियो, त्यसपछि डा. सुरज कुर्मीले बच्चाको अवस्था गम्भिर भएको भन्दै नेशनल मेडिकल कलेज लैजान भनेर रेफर गरे’ । दुईदिनसम्म अस्पतालमा राखेपनि कुनै किसिमको चेकजाँच तथा बच्चाको उपचार नभएको कारण छोराको अवस्था विग्रिएको उनको भनाई छ ।
अहिले बच्चालाई नेशनल मेडिकल कलेजमा राखेर उपचार
भइरहेको छ । बच्चाको छातीमा समस्या भएर साँस फेर्न गाह्रो भइरहेको कारण छातीमा ‘चेस्ट ट्युब’ हाल्नु परेको छ । बुधबार साँझ शल्यक्रिया गरेर चेस्ट ट्युब हाली जमेको रगतलाई निकाल्नुपर्छ । यसरी उपचारमा चरम लापरवाही गरेका चिकित्सक डा. पप्पु जयसवाल र डा. सुरज कुर्मीलाई कारवाहीको लागि नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड डा. चित्तरन्त साहलाई जानकारी गराइएको छ । सोमबार मेसुको कार्यकक्षमा पीडित पक्ष, उपचारमा संलग्न चिकित्सक, अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ता सहित सञ्चारकर्मीको रोहबरमा भएको छलफलमा चिकित्सकहरुको चरम लापरवाहीले बच्चाको अवस्था गम्भिर भएको पाइएको थियो ।
मेसु डा. साहले यसबारे आवश्यक छानविन गरि दोषीलाई कारवाही गर्ने आश्वासन दिएका थिए । दुई तीन दिन भित्र छानविन समिति बनाई यस घटनामा संलग्न रही लापरवाही गरेका चिकित्सकलाई कारवाही गर्ने बताए । छलफलको क्रममा अस्पतालको आन्तरिक रिपोर्टिङ्गमा कमि देखिएको थियो । दुईदिन सम्म आफ्नो निगरानीमा राखेका डा. पप्पु जयसवालले आइतबारका दिन ड्युटीमा आएका चिकित्सक डा. सुरज कुर्मीले बालकको अवस्थाबारे जानकारी नगराएको कारण उपचारमा लापरवाही भएको पाइएको थियो । तीन दिनसम्म भर्ना रहेका बच्चाको बारेमा चिकित्सकहरुलाई जानकारी नै नभएको कारण उपचारमा लापरवाही भएको देखिएको थियो ।
वर्तमान अवस्थामा नारायणी अस्पतालमा सर्वसाधारणले भरपर्दो सेवा पाउन सकेका छैनन् । चिकित्सकहरुले समयमा ड्युटीमा नआउने, उपचारमा लापरवाही गर्ने, आफ्नो मनमौजी तरिकाले अस्पतालमा आउने र राउण्ड गरेर सुटुक्कै आफ्नो निजी क्लिनिकमा जाने गरेको कारण नारायणी अस्पतालको उपचार सेवा प्रभावकारी हुन सकेको छैन । वीरगंजमा रहेका निजी क्लिनिकहरुको चिकित्सकहरुको बोर्डमा नारायणी अस्पतालको नाम चिप्काइएको हुन्छ तर कुनै चिकित्सक समयमा नारायणी अस्पतालमा भेट हुँदैन, दिनभरि क्लिनिकमा बस्ने गरेको कारण नारायणी अस्पतालमा सेवाग्राहीहरुले प्रभावकारी सेवा पाउन सकि रहेको छैन ।
स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रलाई कमाई खाने भाँडो बनाएका नारायणी अस्पतालमा कार्यरत चिकित्सकहरुलाई समयमै सुधारिएन भने नारायणी अस्पतालको नाम बेचेर अकुत सम्पत्ति कमाउन पल्केका यस्ता चिकित्सकहरुको कारण नारायणी अस्प्तालको भविष्य धरासायी बन्दै गएको छ । भर्खरै दुई दिन अघि मात्रै इमर्जेन्सी वार्डमा खटेका मेडिकल अफिसरले रगत परीक्षणका लागि निजी ल्याबमा पठाएको घटना सार्वजनिक भएको थियो । नारायणी अस्पतालको ल्याब हुँदाहुँदै कमिशनको लागि उनीहरुले रगत पिसाब चेकजाँचको लागि निजी ल्याबमा पठाउने गरेको कारण स्वास्थ्य क्षेत्रमा माफियातन्त्र हावी भएको सहजै अनुमान लगाउन सकिन्छ ।
नारायणी अस्पतालको नाम बेचर निजी क्लिनिकमा विरामी पठाउन पल्केका यस्ता चिकितसकहरुको पर्दाफास हुन आवश्यक छ । अस्पताल विकास समितिको अध्यक्ष धिरज गुप्ताले यस्ता घटनाहरुप्रति सम्वेदनशील भई अस्पतालको सेवालाई सुधार्नुपर्ने आवश्यक रहेको बताइएको छ । स्वास्थ्यमा राजनीतिमात्रै नभई सेवा पनि सुधार गर्नुपर्ने देखिन्छ ।