
बिरगंज ।
नेशनल मेडिकल कलेज, वीरगञ्जमा अध्ययनरत विद्यार्थीहरुले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विविध समस्याहरु समाधानको माग गर्दै पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन्।
विद्यार्थी दिलशाद अहमद खानको नेतृत्वमा गएको टोलीले चिकित्सा शिक्षामा अवैध अवरोध प्रणाली (MBBS/BDS), शिक्षाशुल्क र बुझाउने प्रक्रिया, इन्टर्नशिपमा देखिएका समस्याहरु, स्नातकोत्तर (PG) पारिश्रमिक र अन्य समस्याका साथै चिकित्सकहरुको सुरक्षा र पारिश्रमिक सम्बन्धी मुद्दाहरुमा ध्यानाकर्षण गराएको छ। साथै, स्वास्थ्य र शिक्षामा छुटाइएको बजेटको समुचित उपयोगको माग पनि गरिएको छ।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले विद्यार्थीहरुको मागलाई सकारात्मक रुपमा लिँदै समस्याको समाधानका लागि आफू प्रतिबद्ध रहेको आश्वासन दिएका छन्।
टोलीमा सहभागी विद्यार्थीहरुले आफ्नो आवाज खुलेर राख्न पाउँदा खुसी व्यक्त गर्दै मागहरु पुरा गराउन पहल हुनेमा आशावादी रहेको बताएका छन्। चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याहरु समाधान हुने विश्वास गरिएको छ।