वीरगञ्ज, साउन १० ।

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँपको बगैचाबाट प्रहरीले १४० केजी लागूऔषध गाँजा बरामद गरेको छ।
विशेष सूचनाको आधारमा शुक्रबार राति करिब ९:३० बजे इलाका प्रहरी कार्यालय पोखरिया, पर्सा र सशस्त्र प्रहरी बलको बीओपी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त क्षेत्रमा खानतलासी गरेको थियो। सो क्रममा बगैचाभित्र घाँसमा लुकाइछिपाइ राखिएको १३ पोकामा रहेको गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागूऔषधको तौल १४० केजी रहेको छ। घटनामा संलग्न व्यक्ति तथा लागूऔषधको स्रोतबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी चक्रबहादुर मल्लका अनुसार बरामद गरिएको लागूऔषध नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय