वीरगञ्ज, पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्की पछिल्लो समय प्रचारमुखी शैली अपनाउन खोजेको भन्दै स्थानीय तहमा विभिन्न टिप्पणी हुन थालेका छन्। विशेषगरी केही फेसबुकमा आधारित सञ्चारमाध्यम तथा सामाजिक सञ्जालका पेजहरूले उहाँलाई निरन्तर बधाई तथा प्रशंसासहितका सामग्री प्रकाशित गरिरहेको देखिएपछि यसबारे चर्चा चुलिएको हो।
कतिपय स्थानीय सञ्चारकर्मी तथा सर्वसाधारणले प्रहरी अधिकारीको मूल्याङ्कन प्रचारका आधारमा नभई कार्यसम्पादन, अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने क्षमता र नागरिकलाई प्रदान गरिने सेवाको गुणस्तरका आधारमा हुनुपर्ने धारणा व्यक्त गरेका छन्। उनीहरूका अनुसार सार्वजनिक रूपमा उल्लेखनीय उपलब्धि वा विशेष कार्यको स्पष्ट विवरणबिनै प्रशंसामूलक सामग्री प्रकाशित हुनु उचित नदेखिने टिप्पणी भइरहेको छ।
स्थानीय सञ्चारवृत्तमा पनि केही फेसबुक मिडियाले ठोस उपलब्धि पुष्टि नगरी डीएसपी कार्कीलाई बधाई तथा प्रशंसाका सामग्री प्रकाशित गरिरहेको चर्चा छ। यसले प्रहरी संगठनको निष्पक्ष छविभन्दा व्यक्तिगत प्रचारलाई प्राथमिकता दिएको जस्तो सन्देश जान सक्ने भन्दै आलोचना पनि भइरहेको छ।








