वीरगञ्ज, साउन १६ ।

पर्साको वीरगञ्ज महानगरपालिका–२ स्थित ईदगाहा चोकको भित्री सडक खण्डमा शुक्रबार साँझ दुई युवाबीच भएको कुटपिट घटनामा एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार साँझ करिब ७:३५ बजे विगतदेखिको व्यक्तिगत विवादका कारण वीरगञ्ज–२ निवासी १८ वर्षीय समिर अन्सारीले वीरगञ्ज–१६ इनर्वागाउँ निवासी १८ वर्षीय रञ्जित यादवमाथि हातपात गरेका थिए। घटनामा रञ्जित यादवको ओठ र नाकमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइतेलाई प्रहरीले तत्काल प्रभु अस्पतालमा उपचारका लागि पठाएको र उनको उपचार भइरहेको छ। घटनामा संलग्न समिर अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।
यसैबीच, घटनालाई लिएर सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा धार्मिक तथा सामाजिक सद्भाव खलबल्याउने किसिमका भ्रामक समाचार र सामग्री प्रसारण भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रहरीले घटनाको सत्यतथ्य अनुसन्धान गरी संलग्न व्यक्तिविरुद्ध कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै अपुष्ट तथा भ्रामक सूचना नफैलाउन सबै सञ्चारकर्मी र सर्वसाधारणसँग आग्रह गरेको छ। साथै, धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित भई सही र तथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गर्न प्रहरीले हार्दिक अपिल गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय