वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईले पर्सावासीको शान्ति सुरक्षा, नागरिकको सुरक्षा तथा मानवअधिकारको संरक्षण प्रहरीको पहिलो प्राथमिकता रहेको बताएका छन्।
पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै एसपी भट्टराईले प्रहरी नागरिकको सुरक्षाका लागि जिम्मेवार निकाय भएकाले आफ्नो जिम्मेवारीलाई संवेदनशील र जवाफदेही ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले पर्सामा शान्ति सुरक्षा कायम गर्नुका साथै आम नागरिकलाई सुरक्षित वातावरणको अनुभूति दिलाउनु प्रहरीको प्रमुख दायित्व भएको बताए। नागरिकले प्रहरीलाई आफ्नो सुरक्षाको भरोसायोग्य संस्थाका रूपमा लिन सक्ने वातावरण निर्माण गर्न आफूले प्राथमिकताका साथ काम गर्ने उनको भनाइ थियो।
एसपी भट्टराईले नागरिकको सुरक्षा, मानवअधिकारको सम्मान र पर्सावासीको शान्ति सुरक्षालाई केन्द्रमा राखेर प्रहरीको कार्यसम्पादन अघि बढाइने बताए। प्रहरीको काम अपराध नियन्त्रणमा मात्र सीमित नभई नागरिकसँग प्रत्यक्ष जोडिएर उनीहरूका समस्या सुन्ने, आवश्यक सहयोग गर्ने र कानुनअनुसार निष्पक्ष सेवा प्रवाह गर्ने पनि रहेको उनले उल्लेख गरे।
उनले अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा कानुनी प्रक्रिया र मानवअधिकारका आधारभूत मान्यतालाई समेत ध्यानमा राखिने स्पष्ट पारे। प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताउँदै उनले नागरिकको सहयोग र सूचनाबिना अपराध नियन्त्रण प्रभावकारी हुन नसक्ने धारणा राखे।
पर्सा जिल्ला खुला सीमाना, ठूलो जनघनत्व तथा वीरगञ्जजस्तो प्रमुख व्यापारिक नाका रहेको जिल्ला भएकाले यहाँ सुरक्षा चुनौतीसमेत फरक प्रकृतिका रहेको बताउँदै एसपी भट्टराईले चुनौतीअनुसार प्रहरीको सुरक्षा रणनीति प्रभावकारी बनाउँदै लैजाने बताए।
उनले सीमा क्षेत्रमा हुने अवैध गतिविधि, लागुऔषध कारोबार, चोरी–तस्करी, हिंसा तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा प्रहरीको सक्रियता बढाउने उल्लेख गरे। साथै, कानुन उल्लंघन गर्ने जोसुकै व्यक्ति भए पनि कानुनको दायरामा ल्याउने र प्रहरीको कारबाही निष्पक्ष तथा तथ्यमा आधारित हुने बताए।
पत्रकार भेटघाट तथा अन्तरक्रियाका क्रममा एसपी भट्टराईले सञ्चारमाध्यम र प्रहरीबीचको सहकार्यलाई पनि महत्वपूर्ण रूपमा लिएको बताए। समाजमा हुने आपराधिक गतिविधि, नागरिकका समस्या तथा सुरक्षा चुनौतीबारे सञ्चारमाध्यमले उठाएका विषयले प्रहरीलाई समेत आफ्नो कार्यसम्पादन सुधार गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
उनले प्रहरीको कामकारबाहीबारे नागरिक तथा सञ्चारमाध्यमबाट आउने रचनात्मक सुझावलाई सकारात्मक रूपमा लिने बताउँदै प्रहरीलाई अझ नागरिकमैत्री, उत्तरदायी र पारदर्शी बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहने बताए।
एसपी भट्टराईले पर्सावासीलाई सुरक्षित वातावरण उपलब्ध गराउन प्रहरी एक्लैको प्रयास पर्याप्त नहुने भन्दै नागरिक, सञ्चारमाध्यम, स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा पत्रकारहरूले पर्साको समग्र सुरक्षा अवस्था, अपराध नियन्त्रण, सीमा सुरक्षा, नागरिकसँग प्रहरीको सम्बन्ध तथा प्रहरीको आगामी कार्ययोजनालगायतका विषयमा जिज्ञासा राखेका थिए। पत्रकारका जिज्ञासाको जवाफ दिँदै एसपी भट्टराईले प्रहरीको पहिलो प्राथमिकता नै नागरिकको सुरक्षा र जिल्लामा शान्ति सुरक्षा कायम गर्नु रहेको दोहोर्याए।
उनले पर्सावासीको विश्वास जित्दै प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै ‘नागरिक सुरक्षित भए मात्र प्रहरीको जिम्मेवारी पूरा भएको मानिने’ धारणा राखे।
एसपी भट्टराईले पर्साको शान्ति सुरक्षा कायम गर्न प्रहरी सदैव सक्रिय रहने र नागरिकको हक, अधिकार तथा सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय