जनकपुरधाम : महोत्तरीको इलाका प्रहरी कार्यालय गौशालाका घुमुवा प्रहरी शिवजनम यादव साइकलमा सामान ल्याएबापत १५ हजार मासिक उठाउँथे। मासिक रूपमा शिवजन यादवले भोला महतोसँग बुझ्ने गरेका थिए। तर, होली अगाडि एक बोरा चामल ल्याउँदै गर्दा उनलाई प्रहरीको घुमवा टोलीले पक्राउ गर्यो। पक्राउ गरेर जिल्ला पुर्याउनु पर्नेमा रामगोपालपुर पुर्यायो। त्यहाँ केही समय राखेपछि मात्रै राति जिल्ला पुर्याइयो। दुई लाखबाट सुरु भएको ‘बार्गेनिङ’ नमिलेपछि मात्रै राति जिल्लामा बुझाइएको थियो। भोलिपल्ट पनि मानिस, मोटरसाइकल र समान छोड्न रकमको लामो ‘बार्गेनिङ’ चल्यो। बार्गेनिङमा चित्त नबुझेपछि महतोलाई छाडेर मोटरसाइकल र सामान भन्सार कार्यालयमा बुझाइयो।
महोत्तरीका तत्कालीन प्रहरी उपरीक्षक प्रकाश मल्लले शिवपुजन यादवलाई कारवाही गर्दै जिल्लामा तानेका थिए। तर, उनी जिल्ला सरुवा भएको दुई दिन नबित्दै र नयाँ प्रहरी उपरीक्षक श्यामकुमार राई आउनु पूर्व नै पुरानै ठाउँमा फर्किएका थिए। गत फागुन ८ गते जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको सादा पोशाकका प्रहरी (घुमुवा) ले जनकपुरधामबाट एक व्यापारीको ३१ थान मोबाइल नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएको मोबोइल जिल्ला प्रहरी कार्यालय हुँदै आवश्यक अनुसन्धानका लागि सामान भन्सार कार्यालयमा दाखिला गर्नुपर्ने हो। तर, घुमुवा प्रहरीले सामान पक्राउ गरेको सूचना नै लुकाए। उनीहरूले सूचना मात्रै लुकाएनन्, जिल्ला प्रहरी कार्यालयको आँखा छल्न पनि सफल भए। व्यापारीसँग तीन लाखका रुपैयाँ लिएरसमेत मोबाइल छाडेनन्।
घुमुवा प्रहरी बताउने जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका सहायक हवल्दार दीपेन्द्रकुमार राज र प्रहरी जवान रोशनकुमार यादवले मोबाइल नछोडेपछि ती व्यापारीले प्रदेश प्रहरी कार्यालयमा उजुरी गरे। त्यसपछि डीआईजी यज्ञविनोद पोखरेलको निर्देशनपछि कारबाहीको प्रक्रिया अगाडि बढाइएको थियो।
प्रहरी नायव महानिरीक्षक पोखरेलको निर्देशनपछि दीपेन्द्रकुमार र रोशनकुमारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि लुकाएर राखेको मोबाइल र ९५ हजार रुपैयाँसमेत बरामद गरेको थियो।
गत माघमा लक्ष्मणप्रसाद महाराज भन्ने ‘सुमन बाबा’सँग २५० ग्राम गाँजा र नगद १६ हजार रुपैयाँ जिल्ला प्रहरी कर्याालय धनुषाको घुमुवा हुँ भन्नेले लुटे। सुमन बाबाले जिल्ला प्रहरी कार्यालयमा बुझ्न जाँदा कुनै पनि सामग्री कार्यालयमा नबुझाएको भेटियो। पछि अनुसन्धानमा दीपेन्द्रकुमार र रोशनकुमारले राखेको तथ्य खुल्यो।
गत वर्ष असारमा नेपालबाट बोरामा मदिरा भारतको जयनगरतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीको गाडी देखेपछि मोटरसाइकल चालक भागेका थिए। जयनगर अनुमण्डल चौकीका विप्लवकुमार नेतृत्वको टोलीले चारवटा मोटरसाइकलसँगै १२ बोरा मदिरा नियन्त्रणमा लिएको थियो। प्रहरी अनुसन्धानमा सो मदिरा धनुषा र सिरहाको सीमा नाका हुँदै जयनगरसम्म पुगेको तथ्य खुल्यो। गत साउन १० गते महोत्तरीको मनरासिस्वा नगरपालिका–५ स्थित दशगजामा भारत तस्करीका लागि भण्डारण गरेर राखिएको विभिन्न ब्रान्डको मदिरा बरामद गर्यो। प्रहरीले सो मदिराको १८ लाख ५० हजार २ सय ३० रुपैयाँ मूल्य कायम गरी आन्तरिक राजस्व कार्यालय धनुषामा बुझायो।
गत असार २८ गते धनुषाको नगराइन नगरपालिका–४ स्थित जनकपुर–तुल्सियाही जब्दी सडक हुँदै भारततर्फ जान लागेको ज १ च १२६८ नम्बरकोे पिकअप गाडी मदिराका कार्टुनले भरिएको थियो। गस्तीमा रहेको प्रहरीले जाँच गर्दा ३ सय कार्टुन रक्सी बरामद भयो। चालक धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ का २३ वर्षीय नुरे आलम शेषसँग भएको अनुष्का ट्रेडसको बिलमा अर्कै गाडीको नम्बर उल्लेख थियो। प्रहरीले चालक आलमसँग सोधपुछ गर्दा गाडीमा लोड गरिएको मदिरा भारत लान लागेको खुल्यो।
जयनगर पुलिसका अनुसार नेपालबाट भारततर्फ मदिरा तस्करी गर्ने थुप्रै मानिस र सवारी साधन नियन्त्रणमा छन्। धेरैजना अझै थुनामै छन्। तर, नेपालबाट भारततर्फ मदिरा तस्करी रोकिने त परको कुरा, झन्झन् बढ्दो छ। भारतको बिहार सरकारले मदिरा निषेध गरेको छ। जसका कारण नेपालबाट सीमावर्ती भारतीय गाउँसहरमा मदिरा तस्करी हुँदै आएको छ। भारतसँग सीमा जोडिएका महोत्तरी जलेश्वर, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, सप्तरी र सिरहाका विभिन्न नाकाबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो संगठित रूपमा फैलिँदै छ।
धनुषा र महोत्तरीका सीमावर्ती क्षेत्रका दर्जनौं चोरबाटो हुँदै मदिरा तस्करी भइरहेको छ। मदिरा टाउकोमा बोकेर पैदलै र मोटरसाइकलको प्रयोग गरेर भइरहेको पाइएको छ। मदिरा तस्करलाई नेपाली सुरक्षाकर्मीभन्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय पुलिससँग त्रास हुन्छ। त्यसैले मदिरा तस्करहरू वारि बसेर पारिका एसएसबी र पुलिस नियाल्छन् र मौका मिल्नासाथ सीमा कटाइहाल्छन्। कतिपय नाका क्षेत्रमा मदिरा तस्करले एसएसबीसँग मिलेमतो गर्ने गरेको सीमाक्षेत्रका बासिन्दा बताउँछन्।
तस्करीबारे मुख खोल्नेलाई ज्यानकै जोखिम हुन्छ। त्यसो गर्नेलाई पहिला पैसाले चुप लगाउन खोजिन्छ, नमाने धम्क्याएर चुप लगाइन्छ। मदिरा तस्करीका लागि कमला र कोशी नदीबाट मदिराका बोरामा लोड गरेर भारततर्फ पुर्याउन तस्करहरूको संगठित सञ्जाल नै परिचालित छ। मदिरा तस्करसँग तालमेल नमिल्दा प्रहरी र सशस्त्र प्रहरीले बेलाबेला बेवारिसे भनिएको मदिराका केही बोरा बरामद गरे पनि तस्करको संगठित सञ्जालसम्म पुग्न सकेको छैन।
पछिल्लो समय घुमुवा प्रहरीमाथि मुद्दा चलेको घटना कमै सार्वजनिक भए पनि उनीहरूको असुली धन्दा भने रोकिएको छैन। विशेषः तराईका जिल्लामा घुमुवा प्रहरी असुलीमा संलग्न हुने गरेको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वअधिकृत अवधकुमार कुशवहा बताउँछन्। ‘म कार्यरत रहँदा केही घुमुवामाथि मुद्दा दायर भएको थियो’, उनले भने, ‘उनीभन्दा माथिल्लो तहमा भने नेक्सस देखिए पनि प्रमाण जुटाउन सकस हुन्छ। ठूलो दर्जाका प्रहरीहरू भेटिए भने मुद्दा सेलाउँछ।’ उनीहरूले माथिको निर्देशनमा काम गरेको प्रष्ट हुन्छ। तर, को हुन् भन्ने खुल्दैन। यस्ता घुमुवाहरू प्रहरी प्रधान कार्यालयदेखि प्रदेश, जिल्ला, इलाका, चौकीसहित मातहतका हुन्छन्। प्रहरीको इन्टलिजेन्समा काम गर्ने घुमुवा प्रहरीहरू विश्वास पात्र भए पनि बीचमै खेल्ने गरेको देखिन्छ। मधेसमा पनि सईदेखिको नेतृत्व हुने प्रहरी चौकीदेखि डीआईजी कार्यालयसम्मका छुट्टाछुट्टै घुमुवा राखिन्छ।
पछिल्लो समय अख्तियारको फन्दामा परेका घुमुवाको संख्या कम भए पनि प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखामा भने उनीहरूको कर्तुतको चाङ लाग्ने गरेको छ। कतिपय घुमुवालाई अन्यत्र सरुवा पनि गरिएका छन्। तर, उनीहरू राजनीतिक पहुँच र प्रहरीको उच्च अधिकारीको सोर्स लगाएर पुनः पुरानै स्थानमा फर्किने गरेका छन्। यसअघिका प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले घुमुवाहरूको दबदबा बारे गुनासो व्यापक भएपछि विभिन्न प्रहरी कार्यालयका सिभिल प्रहरीलाई हटाएका थिए। उनीभन्दा अघिका आईजीपी उपेन्द्रकान्त अर्यालको पालामा त घुमुवा प्रहरी हटाउने अभियान नै चलेको थियो। यद्यपि, त्यसले मूर्तरुप भने लिन सकेन।
को हुन् घुमुवा प्रहरी ?
‘घुमुवा’ अर्थात् सादा पोसाकका प्रहरी। नेपाल प्रहरीमा गोप्य सूचना संकलन गर्न घुमुवा राख्ने प्रचलन छ। नागरिकको सुरक्षा र अपराध नियन्त्रणमा सघाउने मनसायले राखिएका घुमुवा प्रहरी पछिल्लो पटक जिम्मेवारी छाडेर ‘शतप्रतिशत’ महिनावारी उठाउन सक्रिय देखिन्छन्। घुमुवाहरू स्थानीय सुरक्षा प्रमुख कहाँ पैसा उठाएर पुर्याउने विश्वासिलो माध्यम बन्न थालेका छन्। घुमुवा प्रहरीको जागिर जुन जिल्लाबाट सुरु हुन्छ अधिकांशले अवकाश पनि त्यही वा आसपासका जिल्लाबाट पाउने गरेका छन्। केहीलाई उजुरीका आधारमा प्रहरी प्रमुखले दुर्गम क्षेत्रमा पनि सरुवा गरिदिएका छन्। तर, केही महिनामै प्रभावशाली व्यक्तिहरूको आडमा उनीहरू उही स्थानमा काजमा खटिरहेका भेटिन्छन्।
घुमुवा प्रहरी विशेषतः तराईका जिल्लामा बढी सक्रिय देखिन्छन्। सीमा नाकाबाट हुने चोरी, तस्करीमा उनीहरू जोडिँदै आएका छन्। घमुवा प्रहरी भनेर छुट्टै दरबन्दी हुँदैन। जिल्ला प्रहरी कार्यालयहरूमा ५ देखि १० जनासम्म घुमुवा राखिएको देखिन्छ। धनुषामा पनि जिल्ला र ईलाका प्रहरी कार्यालयको छुट्टाछुट्टै घुमुवा प्रहरी खटाउने चलन छ। धनुषा जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव निरीक्षक रवि मण्डलको नेतृत्वको कमान्डमा ७ जना घुमुवा प्रहरी परिचालन गरिएको छ। जनकपुरधामस्थित जानकी प्रहरी चौकीमा रोशन यादव, जिराइमाल प्रहरी चौकीमा तपेन्द्र यादव, रेल्वे प्रहरी चौकीमा राजीव मण्डल, इलाका प्रहरी कार्यालय यदुकुहामा अशोक यादव, सीमा क्षेत्र खजुरीमा रमाकान्त यादव, तिनकौरिया प्रहरी चोकीमा सञ्जिव पाण्डे, ललिया प्रहरी चौकीमा गंगा महतोलगायत हरेक चौकीमा घुमुवा छन्। यति मात्र होइन, संघीय प्रहरी, प्रदेश प्रहरी र प्रहरी प्रधान कार्यालयको घुमुवासमेत जिल्लामा छुट्टाछुट्टै खटाइएको स्रोतको दाबी छ।
स्थानीय पत्रकार अनिल कुमार साहका अनुसार प्रहरीका ‘घुमुवा’ शंकास्पद कार्यमा छन्। ‘अपराध अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले प्रहरीले तल्लो इकाईसम्म सादा पोसाकमा खटाउने गरेका ‘घुमुवा’का गतिविधि आफैंमा शंकास्पद छ। विभाग, जिल्ला, इप्रका र चौकीमा ‘इन्टेलिजेन्स’ भन्ने गरिए पनि घुमुवा भनिने सादा पोसाकका प्रहरी अपराधको अनुसन्धानभन्दा आफ्ना हाकिमको ‘लाइन’ मिलाउन सक्रिय देखिन्छन्’, उनले भने।
यसरी अनुसन्धानका अलावा व्यापारीहरूसँग लाइन मिलाएर रकम उठाउनु घुमुवाको धन्दा बनेको छ। चाडवाडका बेला जुवातास खेलाउन लाइन मिलाउनसमेत प्रहरी प्रमुखहरूले घुमुवाको उपयोग गर्ने गरेका छनन्। आफ्नो विश्वासपात्रलाई घुमुवामा राखेर रकम असुली गर्ने काममा प्रमुखहरू खप्पिस हुने गरेको प्रहरीकै एक अधिकृतले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेतले सूचना संकलन गर्न भन्दै सादा पोसाकमा जवान र सोही दर्जाभन्दा केही माथिका सुरक्षाकर्मीलाई बाहिर निकाल्ने गरेको छ। सादा पोसाकमा गुप्तचरीका लागि अनुसन्धानको छुट्टै एकाइ नभएको भने होइन। यस्ता कामका लागि राष्ट्रिय अनुसन्धान विभाग छ। तर, अनुसन्धान विभागले सूचना समन्वय नगरेका कारण भन्दै घुमुवाका विषयमा तथ्य बताउन प्रहरी प्रमुखहरू पन्छिने गरेका छन्। एक अधिकृतले भने, ‘घुमुवा प्रहरीले सूचना नै ल्याउँदैनन्। बरु माल कताबाट मिल्छ त्यहीँ खोजी गर्छन्।’
मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रहरी नायव महानिरीक्षक (डीआईजी) यज्ञविनोद पोखरेलले ‘घुमुवा’ एकआध बाहेक प्रहरीको मर्यादा विपरित काम नगरेको बताउँछन्। फाइदा दिने भएकैले घुमुवामाथिका अनाधिकृत गतिविधिको आरोप मान्न उनी तयार छैनन्। ‘तस्कारी रोक्ने काम हाम्रो होइन्, यो काम पहिलो सशस्त्र प्रहरी, भन्सार राजश्वलगायतको हो। त्यसपछि मात्र हाम्रो हो। हामीकहाँ शान्ति सुरक्षा, अपराध नियन्त्रणलगायतको कामको चाङ हुन्छ, त्यसबाट नै हामीलाई फर्सद हुँदैन।’ यसैगरी सशस्त्र प्रहरी मधेस प्रदेश प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयले नेपालभरमा सादा पोसाकका प्रहरी नखटाउने निर्णयअन्तर्गत मधेसमा कुनै पनि सादा पोसाकका प्रहरी परिचालन नभएको दाबी गरे। ‘घुमुवा परिचालको सवाल नै उठँदैन। यदी कुनै जिल्लामा त्यस्तो छ भने जानकारी पाउँ तुरुन्त कारवाही हुन्छ। १४ महिनादेखि कुनै पनि नाममा सशस्त्रका कुनैपनि दर्जाका प्रहरीले तस्करी लगायत अन्य अवैद्य क्रियाकलाप गरेको भेटिए कारवाही हुन्छ’, उनले भने। साभार— अन्नपुर्णा पोस्ट