राम कुशवाहा 
बिरगंज, १७ जेठ ।
पर्सा जिल्लाको बिरगंज महानगरपालिकाको अलौ नाकाबाट अहिले दिउँसो कबाडी र प्लास्टिकका दाना र रातीमा काजु किसमिसको व्यापक तस्करी भइरहेको छ। बिरगंज महानगरको चण्डाल चौक एरियामा रहेका प्लास्टिकको दाना बनाउने उद्योगबाट कबाड र प्लास्टिकका दाना, अलौ बोर्डरबाट स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा भारततर्फ तस्करी भइरहेको छ।

प्रहरी चौकी अलौका इन्चार्ज प्रहरी नायब निरीक्षक सुनिल पनेरु र सशस्त्र प्रहरी अलौ बेस क्याम्पका इन्चार्जलाई महिनावारी बुझाइ तस्करी धन्दा सञ्चालन गर्न दिएको जानकारी प्राप्त भएको छ।

प्रहरी चौकी अलौका घुमुवा खलिपा भन्ने सागर यादवले तस्करहरुबाट महिना उठाएर सई पनेरुलाइ दिने गरेका छन्। सीमावर्ती सहर रक्सौलका मनोज भन्ने व्यक्तिले सो नाकाबाट कबाड र प्लास्टिकका दानाको तस्करी गर्दै आइरहेका छन्।

त्यस्तैगरी सो नाकाबाट प्याज, हार्डवेयर, माछा, किराना खाद्यान्न लगायतका सामानहरुको भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ प्रवेश गर्ने व्यापारीहरूसँग प्रहरी चौकी अलौका घुमुवा सागर यादवले महिनावारी लिएर निर्धक्क तस्करी लाइन सञ्चालन गर्न दिएका छन्।

स्थानीय प्रहरीको सहयोगले तस्करहरूले आफ्नो धन्दा बढाइरहेका छन्। काजु किसमिसको अवैध कारोबार गर्ने तस्करहरूले प्रहरी चौकी अलौका सई सुनिल पनेरुलाइ लाखौंको महिना दिएर तस्करीलाई संरक्षण गरिरहेको स्थानीयवासीहरूले बताएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम शाखाका घुमुवाहरूले समेत अलौ नाकाबाट अवैध कारोबार गर्ने व्यापारीहरूसँग दैनिक उठबस र आर्थिक लाभ लिने गरेको पाइएको छ।

प्रहरीको मर्यादा विपरित राजस्व चुहावट गर्ने तस्करहरूसँग आर्थिक लाभ लिई गलत धन्दालाई बढावा दिने यस्ता प्रहरीलाई समयमै कारवाही गर्न जरुरी देखिएको छ। यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता कुमार विक्रम थापासँग बुझ्दा गलत गर्ने प्रहरीलाई कारवाही गरिने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय